दोलखा। दोलखाको वैतेश्वर गाउँपालिका–६ नाम्दुमा निर्माण गरिएको ३३/११ केभी नाम्दु सब–स्टेशन सञ्चालनमा आएको छ।
निर्माण सम्पन्न भएर पनि स्थानीयको विवाद र निर्माण कम्पनीको प्राविधिक समस्याको कारण डेढ वर्षदेखि सञ्चालनमा आउन नसकेको उक्त सब–स्टेशनको सोमबार वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले उद्घाटन गर्दै सञ्चालनमा ल्याएका हुन् ।
३३÷११ केभी सबस्टेसन चार्ज भएसँगै उक्त सबस्टेसनबाट वैतेश्वरमा विद्युत् वितरण सुरु भएको छ ।
सबस्टेसन ग्रीड सोलार एण्ड इनर्जी आयोजनाले प्याकेज नौ अन्तर्गत ८ करोड लागतमा वैतेश्वर गाउँपालिकाको नाम्दुमा सबस्टेसन निर्माण गरिएको आयोजना प्रमुख संगीता कार्कीले बताइन्।
ग्रीड सोलार एण्ड इनर्जीले नाम्दु सब–स्टेशनसहित बागमती प्रदेशमा १३ वटा सब–स्टेशन निर्माण गरेको उनले बताइन्।
३३÷११ केभीलाई लुप आउट गरेर वैतेश्वर क्षेत्रमा सुरक्षित विद्युत् प्रवाहको लागि ३३ केभीलाई नाम्दु भिरामुनि डाँडाघरबाट आवश्यक पोल गाडेर वैतेश्वर जिरी प्रसारण ३३÷११ केभीलाई लुपआउट गरेर नाम्दु सब–स्टेशन लगिएको दोलखा वितरण केन्द्रका कार्यालय प्रमुख नेत्रमणी न्यौपानेले बताए।
नाम्दुबाट ३ वटा फिडर अन्तर्गत विद्युत् सञ्चालन हुने कार्यालय प्रमुख न्यौपानेले बताए । योसँगै यहाँका अधिकांश क्षेत्रका ग्राहकले भरपर्दो विद्युत् सेवा पाउने उनले सुनाए।
यसअघि रहेको ३३ केभीको वितरण प्रणाली नयाँ सबस्टेसन सञ्चालनमा आएसँगै विस्थापित भएको छ । सब–स्टेशनको सञ्चालनपछि एक स्थानमा समस्या हुँदा सबैतिर अँध्यारो हुने, प्राविधिक चुहावट कम हुने तथा उद्योग सञ्चालनका लागि विद्युत् सेवा नियमित उपलब्ध हुने प्राधिकरणले जनाएको छ ।
सब–स्टेशन अभावमा यसअघि वैतेश्वरमा पटक पटक विद्युत् सेवा अवरुद्ध हुने गरेको थियो ।
ग्रीड सोलार एण्ड इनर्जी आयोजनाले २०७८ मंसिरमा ठेक्का लगाएर सबस्टेसनको निर्माण सुरु गरेको थियो।
उक्त सब–स्टेशन सञ्चालनमा आएसंँगै अब वैतेश्वरका स्थानीयहरूले यसअघि पटक पटक झेल्दै आएको विद्युत् अवरुद्ध हुने समस्यामा कमी आउने दोलखा वितरण केन्द्रले जनाएको छ।
लामो दुरीको ३३÷११ केभीमा समस्या आउँदा सिङ्गो वैतेश्वरको लाइन जाने गर्थ्यो । अब नाम्दु सवस्टेशनबाट वैतेश्वर जिरीको प्रसारण लाइनलाई लुप आउट गरेर छुट्याइएको हुँदा जिरीमा समस्या आए पनि वैतेश्वरमा बिजुली बाल्न सकिने दोलखा वितरण केन्द्रका लेखा अधिकृत माधव प्रसाईँले उल्लेख गरे।
सब–स्टेशन उद्घाटन कार्यक्रम वैतेश्वर गाउँपालिका–६ वडा अध्यक्ष असोक तामाङ,वडा नम्बर–३ का वडा अध्यक्ष कमल अधिकारीलगायतको उपस्थिति रहेको थियो।