जोडिनुहोस
  • होमपेज
  • भारतीय मान्छे राखेर नेपाली व्यापारी धम्क्याएको आरोपमा दुर्गा प्रसाईंसँग बयान लिँदै सीआईबी

भारतीय मान्छे राखेर नेपाली व्यापारी धम्क्याएको आरोपमा दुर्गा प्रसाईंसँग बयान लिँदै सीआईबी

काठमाडौं। केन्द्रीय साइबर ब्युरोबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएका झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि आज दोस्रो दिन पनि बयान जारी छ।

आपराधिक लाभ र संगठित अपराधको कसुरमा अनुसन्धानमा तानिएका प्रसाईंले भारतमा व्यक्ति नै खटाएर नेपालका व्यापारीलाई धम्क्याएर रकम असुलेको विषयमा कैयन् प्रमाणहरू भेटिएको सीआईबी स्रोतको दाबी छ।

सन् २०१८ मा बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की दिएर चर्चामा आएका भारतीय गुण्डा लरेन्स विश्नोईको नाम लिएर नेपालका व्यापारी र व्यवसायीलाई धम्क्याउने कसुरमा प्रसाईंको संग्लनता देखिएपछि सीआईबीले उनीमाथि अनुसन्धान थालेको हो। सीआईबीले यही कसुरमा १४ मंसिरमा झापा मेचीनगरका हरिचन्द्र फुयाँललाई पक्राउ गरिसकेको छ।

सीआईबीका अनुसार बयानका क्रममा हरिचन्द्रले आफूलाई व्यापारीले धम्क्याएर रकम असुल्न प्रसाईंले लगाएको मात्रै बताएका छैनन्, प्रहरीले उनको फोनमा यी दुईबीचको कुराकानीको अडियो र कागजपत्र साटासाट गरेको प्रमाण पनि दिएका छन्।

सीआईबी स्रोतका अनुसार प्रसाईंको मोबाइलमा भेटिएको अडियो रेकर्डले उनको संलग्नताको पुष्टि गर्छ। सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले अहिलेसम्म तीन चार जना व्यवसायीले लरेन्स विश्नोईको नाम लिएर धम्क्याएको भन्दै उजुरी दिइसकेको र यस्तो धम्की खेप्ने अरू व्यापारी व्यवसायी भएको सूचना पनि आफूहरूले संकलन गरिरहेको बताए।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भन्ने विवादास्पद भनाइसँगै फर्जी कागजातहरू सार्वजनिक गरेलगत्तै मंसिर ४ मा उनी भक्तपुरस्थित घरबाटै पक्राउ परेका थिए। सुरुमा उनीमाथि साइबर ब्युरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान थालेको थियो। यो विषयमा अनुसन्धान सकिएलगत्तै उनीमाथि सीआईबीले अनुसन्धान थालेको हो।

दुर्गा प्रसाईंलाई सघाउने हरिचन्द को हुन् ?

सीआईबीले भारतमा बसेर प्रसाईंसँगको मिलेमतोमा नेपाली व्यापारी र व्यवसायीलाई धम्क्याउने काममा खटिएका हरिचन्द्र फुयाँलको पृष्ठभूमि माओवादीमा गएर जोडिन्छ। सीआईबीका अनुसार उनी २०५९ सालतिर माओवादीका सक्रिय कार्यकर्ता थिए।

माओवादीमा सक्रिय रहेकै बेला हरिचन्द्रको भेट दुर्गा प्रसाईंसँग भएको देखिन्छ। सीआईबीका अनुसार पढाइ अघि नबढाएका तर छिटो र धेरै पैसा कमाउने उद्देश्य बोकेका हरिचन्द्र पछिल्लो समय प्रसाईंको निर्देशनमा भारतमा बसेर सामाजिक सञ्जालमार्फत विभिन्न व्यापारी र व्यवसायी धम्क्याउने काममा सक्रिय थिए।

व्यवसायीले जुन समयमा आफूहरूले धम्की पाए भनेर बताएका थिए, त्यही अविधमा हरिचन्द्र र प्रसाईंबीच सयपटक भन्दा धेरै कुराकानी भएको रेकर्ड पनि प्रहरीले फेला पारेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका