कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आगन्तुक चरा लक्ष्मण सारस आइपुगेका छन् । कैलालीको टीकापुर नगरपालिकाको श्रीलङ्का टापुमा रहेको नदीको तटीय क्षेत्रमा लक्ष्मण सारस आज देखापरेका चरा विज्ञ हिरुलाल डगौराले बताउनुभयो । चार वर्षदेखि निरन्तर रुपमा यो प्रजातिको सारस कर्णाली नदीको तटीय क्षेत्रमा देखापर्दै आएको उहाँले बताउनुभयो ।
नेपालमा पाइने चार प्रजातिका सारसमध्ये लक्ष्मण सारस आगन्तुक प्रजाति रहेको छ । सन् २००६ मा पहिलो पटक यो प्रजातिको सारस भजनीको मन्त्रीफाँटामा देखापरेपछि अभिलेखीकरण गरिएको थियो । सन् २०२१ देखि हिउँदयाममा लक्ष्मण सारस निरन्तर रूपमा देखापर्दै आएको चराविज्ञ डगौरा बताउनुहुन्छ ।
साइवेरियालगायत उत्तरी धुर्वमा चिसो बढेसँगै नेपाल, भारत, पाकिस्तानलगायत गर्मी हुने तराई क्षेत्रमा बसाइँ सर्ने यो पंछी नेपालका महाकाली, कर्णाली, कोशी, नारायणी, राप्तीलगायत नदी तटीय क्षेत्रमा देख्न सकिन्छ । गर्मी शुरु हुन थालेपछि चैतअघि नै सारस पुरानै बासस्थानमा फर्कने गरेका छन् ।