जोडिनुहोस
  • होमपेज
  • तीन विश्वविद्यालयमा भागबन्डाबाट उपकुलपति

तीन विश्वविद्यालयमा भागबन्डाबाट उपकुलपति

काठमाडौं। प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले नेपाल संस्कृत, कृषि तथा वन विज्ञान र पोखरा विश्वविद्यालयमा उपकुलपति नियुक्ति गरेका छन् ।

सत्तारूढ कांग्रेस र एमालेबीच भागबन्डा गरेर नेपाल संस्कृत विश्वविद्यालयमा धनेश्वर नेपाल, कृषि तथा वन विज्ञानमा शारदा थपलिया र पोखरा विश्वविद्यालयमा वेदराज केसीलाई उपकुलपतिमा नियुक्ति गरिएको हो । प्राध्यापक केसी र थपलिया एमाले तथा नेपाल कांग्रेसनिकट प्राध्यापक हुन् ।

नवनियुक्त उपकुलपति केसी एमालेनिकट नेपाल प्रगतिशील प्राध्यापक संगठन अध्यक्षसमेत हुन् । नेपाल भने प्रजातान्त्रिक प्रध्यापक संघ उपत्यका र संस्कृत विश्वविद्यालयका इकाईका पूर्वपदाधिकारी हुन् । थपलिया प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रकी प्राध्यापक हुन् । उनी कृषि विश्वविद्यालयको रजिस्ट्रार थिइन् ।

कांग्रेस र एमालेबाट चार विश्वविद्यालयमा दुई–दुई उपकुलपति नियुक्त गर्ने सहमतिअनुसार उनीहरूले नियुक्ति पाएको प्रजातान्त्रिक प्राध्यापक संघका एक प्राध्यापकले बताए । उनका अनुसार माघदेखि उपकुलपति रिक्त हुने काठमाडौं विश्वविद्यालय पनि कांग्रेसको भागमा परेको छ ।

‘चार विश्वविद्यालयमा उपकुलपति कांग्रेस कोटाबाट भए रजिस्ट्रार एमाले र उपकुलपति एमालेबाट भए रजिस्ट्रार कांग्रेस कोटाबाट नियुक्त गर्ने सहमति भएको छ,’ उनले भने ।

छनोट तथा सिफारिस समितिले सिफारिस गरेको सूचीबाट प्रधानमन्त्री एवं कुलपति ओलीले उपकुलपति नियुक्ति गरेका हुन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका