काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गरिएको छ । प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय कास्कीले मुद्दा दायर गरेको हो ।
योसँगै लामिछानेको सांसद पद निलम्बन भएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा २७ अनुसार उनको सांसद पद स्वतः निलम्बन भएको हो । पार्टी संसदीय दलका नेता समेत रहेका लामिछानेको सांसद पद निलम्बनमा परेसँगै अब रास्वपाको कार्यवाहक सभापति को बन्छन्ब/न्दैनन् भन्ने आमचासो छ ।
रास्वपाको विधानानुसार सभापतिको अनुपस्थितिमा उपसभापति कार्यवाहक सभापति हुन्छन् । रास्वपामा डोलप्रसाद (डीपी) अर्याल र स्वर्णिम वाग्ले दुई उपसभापति छन् ।
रास्वपा विधानको धारा २४ को उपधारा ३(२) मा पार्टी उपसभापतिको काम, कर्तव्य र अधिकारबारे लेखिएको छ । विधानको व्यवस्थाअनुसार दुई उपसभापतिमध्ये पार्टी सभापतिले तोकेको वा उमेरले ज्येष्ठ व्यक्ति कार्यवाहक सभापति हुन्छन् ।
नागरिकता विवरणानुसार, डीपी अर्याल २०३१ साल ६ भदौ गते जन्मिएका हुन् । स्वर्णिम वाग्ले ०३१ जेठ १६ गते जन्मिएका हुन् ।