
काठमाडौं- सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग सहयोग माग्न पुगेको खुलेको छ।
शुक्रबार बसेको स्वपा सचिवालय बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा महामन्त्री कवीन्द्र बुर्लाकोटीले बालेनलाई भेटेको स्वीकारेका हुन् । सञ्चारकर्मीले काठमाडौंका मेयर साह लगायतसँग रविको पक्षमा जनमतका लागि भेटेको हो भन्ने प्रश्नमा महामन्त्री बुर्लाकोटीले उक्त कुरा स्वीकारे ।
रास्वपाले कतिपय प्रक्रियाको नेतृत्व पनि लिनुपर्ने भएकाले सबैसँग संवाद गरेको खुलाए । देशमा जनजागरण ल्याउन छलफल र संवाद गरिएको उनको भनाइ थियो । उनले सरकारले सभापति लामिछानेविरुद्ध चालेको अहिलेको कानुनी प्रक्रियालाई प्रतिशोध नै मानिएको बताए ।
सरकारको नेतृत्व गरेको दल एमालेभित्र पनि नेताहरू दम्भ र अहंकार बोकेर हिँडेको देखिएको उनले बताए । बुर्लाकोटीले अब देश विकास लागि परिवर्तनकारी शक्तिसँग संवाद निरन्तर गरिने बताए ।




































