
नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकाले जैविक मल उत्पादन शुरू गरेको छ ।
वनमा खेर गएको पातपतिङ्गरबाट जैविक मल उत्पादन गरी बिक्री शुरु गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए । ‘विनयी जैविक मल उत्पादन उद्योग’ सञ्चालन गरी स्याउला, घाँसपातको प्रयोगबाट जैविक मल उत्पादन शुरू गरिएको उनको भनाइ छ ।
विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासमा रहेको विनयी सामुदायिक वन उपभोक्ता समूहमा स्थापना गरिएको उद्योगमा अहिले जैविक मल तयार गरी बिक्री शुरू भएको छ ।
यस वर्ष एक सय २५ मेट्रिक टन जैविक मल उत्पादन गर्ने लक्ष्यसहित काम भइरहेको अध्यक्ष गिरीले जानकारी दिएका हुन्। केही वर्ष अघिसम्म सामुदायिक वनले जैविक मल उत्पादन गर्दै आएकोमा गएको वर्षदेखि गाउँपालिकाले स्वामित्व लिँदै उद्योगका रूपमा काम अगाडि बढाएको हो ।
विज्ञहरूको सहयोगमा माटो र मलको गुणस्तरसम्बन्धी अनुसन्धान सम्पन्न गरी गुणस्तरीय मल उत्पादन सुनिश्चित गरिएको गाउँपालिका अध्यक्ष गिरीले जानकारी दिए । वनजन्य झाडी तथा हिउँदमा डढेलो निम्त्याउने तत्वलाई नियन्त्रण गर्न जैविक मलको उत्पादन प्रभावकारी हुने उनले बताए।
‘गाउँपालिकाभित्र ४१ वटा सामुदायिक वन, दुई वटा धार्मिक वन र दुई वटा मध्यवर्ती वन छन्, यी सबै वनलाई जैविक मल उत्पादन उद्योगसँग जोड्दै लैजाने प्रक्रियामा रहेका छौ । ’, उनले भने, ‘यो योजनाले रासायनिक मललाई विस्थापित गर्दै जैविक मललाई प्राथमिकता दिने, स्थानीयको आयआर्जनको स्रोत विस्तार गर्ने र वातावरण संरक्षणमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।’
वन जङ्गलबाट सङ्कलन गरिएको स्याउला तथा घाँस पात जम्मा गरे पछि जैविक मल उत्पादन गर्न ९० दिन लाग्छ । उत्पादन प्रक्रिया पूर्ण रूपमा व्यवस्थित र पर्यावरणमैत्री रहेको अध्यक्ष गिरीले बताए । वनमा स्याउला तथा घाँस सङ्कलन गर्न विनयी सामुदायिक वनका ८० जना उपभोक्ताहरू अहिले काममा जुटेका छन् ।
‘अहिले एउटा वनबाट मात्रै ८० जना उपभोक्ताले प्रत्यक्ष रोजगारी पाएका छन् ।’, उनले भने, ‘पालिकाभित्रका ४१ वटा सामुदायिक वनबाट वायोमास सङ्कलन शुरु गर्दा पाँच हजारले प्रत्यक्ष रोजगारी पाउने छन् ।’
जङ्गलमा रहेको स्याउला, घाँसपात सङ्कलनका लागि ८० जना उपभोक्ताहरू दैनिक रूपमा काममा आउने गरेको विनयी सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष बालु पुरीले बताए।
जैविक मल उत्पादनका लागि एनसाव नेपाल र एफएयूले तालिम तथा अन्य प्राविधिक सहयोग गरेका छन् । उपभोक्ताले सङ्कलन गरेको हरियो स्याउलालाई प्रतिकिलो दुई रुपैयाँले खरिद गरिने उहाँले जानकारी दिए ।
उद्योगबाट उत्पादन भएको मल गाउँपालिकाभित्र प्रतिकेजी २० र बाहिर प्रतिकेजी २५ रुपैयाँका दरले बिक्री शुरू गरिएको छ ।