जोडिनुहोस
  • होमपेज
  • झोलुङ्गे पुल बनाउन भारतसँग अनुमति र मानसरोवर पासका लागि चीनसँग कुटनीतिक पहल गर्न आग्रह

झोलुङ्गे पुल बनाउन भारतसँग अनुमति र मानसरोवर पासका लागि चीनसँग कुटनीतिक पहल गर्न आग्रह

काठमाडौं। नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलाका विकास योजनामा सहजीकरणका लागि भारत र चीनसँग कुटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्री आरजु राणा देउवालाई आग्रह गरेका छन्।

भारतीय बाटो हुँदै तिंकरमा दुइटा स्काभेटर र दुइटा कम्प्रेसर मेसिन लैजानुपर्ने भएकोले कुटनीतिक पहल गरिदिन सांसद बडूले परराष्ट्र मन्त्री राणासँग आग्रह गरेका हुन्।

महाकाली करिडोरअन्तर्गत तुषारपानी–कोठेधार–तिंकर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ। यो सडकको तिंकरतर्फ पनि स्काभेटरलगायत लैजानुपर्ने भएको र त्यसका लागि भारतीय बाटो प्रयोग गर्नुपरेकोले कुटनीतिक पहल आवश्यक परेको सांसद बडूको भनाइ छ।

भारतको बाटो भएर स्काभेटरलगायत मेसिनहरू सीतापुल (छारूङ) बाट नेपालतर्फ ल्याउन रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय हुँदै सन् २०२२ जुन ६ मै भारतीय दूतावासलाई पत्र पठाइएको थियो। अहिलेसम्म उक्त कार्यका लागि अनुमति प्राप्त नभएकोले परराष्ट्र मन्त्री राणाको ध्यानाकर्षण गरिएको हो।

नेपाल–भारत जोड्न तीन ठाउँमा झोलुङ्गे पुल निर्माण गर्नुपर्ने आवश्यकता रहेकोले झोलुङ्गे पुल निर्माण अनुमतिका लागि पनि कुटनीतिक पहल गरिदिन सांसद बडूको आग्रह छ।

दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङ, व्यास गाउँपालिका १ बुदी र लेकम गाउँपालिका ३ रतौडबाट भारत जोड्न झोलुङ्गे पुल निर्माण अनुमति आवश्यक परेको उनको भनाइ छ।

सांसद बडूले यी विषय उल्लेख गरेर पत्र नै परराष्ट्र मन्त्री राणालाई बुझाएका हुन्।

साथै प्रमुख जिल्ला अधिकारीले जारी गर्ने पासबाट दार्चुलाको तिंकर नाकाबाट चीनको ताक्लाकोटमा व्यापारिक प्रयोजन र कैलाश मानसरोवर यात्राका लागि विगतमा जस्तै आवतजावत गर्न अनुमति प्रदान गर्ने व्यवस्थाका लागि चीनसँग कुटनीतिक पहल गरिदिन सांसद बडूले परराष्ट्र मन्त्री राणालाई भेटेर आग्रह गरेका हुन्।

धेरै टिप्पणी गरिएका