जोडिनुहोस
  • होमपेज
  • वायु सेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गर्न उपसमिति गठन

वायु सेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गर्न उपसमिति गठन

नेपाल वायु सेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गर्न संसदीय समितिले उपसमिति गठन गरेको छ । सिंहदरबारमा आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले शिशिर खनालको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिले अध्ययन गरेर एक महिनाभित्र समितिलाई प्रतिवेदन पेश गर्नेछ । उपसमितिमा खनालसहित छिरिङ ल्हामु लामा, योगश गौचन थकाली र सुनिता बराल हुनुहुन्छ ।

समिति सभापति राजकिशोर यादवले नेपाल नागरिक उड्डयन प्राधिकरणका बारेमा पनि आउँदो बैठकबाट उपसमिति बनाएर अध्ययन गर्ने बताउनुभयो । समितिले संस्कृति, पर्यटन र नागरिक उड्डयन गरी तीन क्षेत्रकै बृहत्तर विकासका लागि मन्त्रालयको समग्र नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयनयोग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी समितिलाई जानकारी गराउन निर्देशन दिएको छ ।

समितिले पर्यटन मन्त्रालयअन्तर्गत सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालित विभिन्न आयोजना एवम् निकायहरुको उपलब्धि र प्रभावकारिताबारे अध्ययन गरी जानकारी समितिलाई उपलब्ध गराउन, पुरातात्त्विक सम्पदा उत्खननको कार्यलाई नियमित, मितव्ययी र परिणाममूलक बनाई कार्यसम्पादनमा जोड दिन, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरूबीच सम्झौता, समन्वय र पहलकदमी लिन पनि पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।

धेरै टिप्पणी गरिएका