सुनसरी। बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर, राजाबास र चक्रघट्टीमा यो वर्ष तरुलको उत्पादन घटेको छ। गत वर्षको तुलनामा यो वर्ष ५० प्रतिशत कम तरुल उत्पादन भएको स्थानीय कृषक र व्यापारीले बताए।
तरुल रोपे लगत्तै अधिक झरी वर्षा र खुम्लेकिरा लागेका कारण यो वर्ष तरुल कम उत्पादन भएको हो। सुनसरीको बराहक्षेत्र नगरपालिकाका वडा–६ देखि वडा ११ सम्ममा स्थानीय कृषकले विगत एक दशकदेखि व्यावसायिक तरुल खेती गर्दै आएका छन्। नेपालमै सबैभन्दा बढी तरुल उत्पादन सुनसरीको बराहक्षेत्रमा हुने गरेको छ।
कोशीको पूर्वी किनारमा रहे पनि सिँचाइको व्यवस्था नहुँदा उक्त जमिनमा धानखेती वा त्यस्तै फलफूल तरकारी खेती नगरी आर्थिक उपार्जनका लागि स्थानीय बासिन्दाले तरुल खेती गर्दै आएका छन्। माघे संक्रान्तिलाई लक्षित गरेर तरुल खेती गर्दै आए पनि यो वर्ष उत्पादन घट्दा आर्थिक रुपमा असर परेको तरुल खेतीका कृषक कृष्ण खड्काले बताए।
बराहक्षेत्र–८ चत्रघट्टी महेन्द्र नगरका खड्काले खबरहबसँग भने, ‘मैले यो वर्ष १२ कट्ठामा तरुलको व्यावसायिक खेती गरेको थिएँ। तर यो वर्ष एक लाख ६० हजार रुपियाँको मात्र उत्पादन भयो।’ उनका अनुसार गत वर्ष राम्रो उत्पादन भएको थियो।
उनले तरुल खेती गरेको जमिनमा धान रोपेको भए बढीमा ४० हजार रुपियाँको धान उत्पादन हुन्थ्यो। अरु फलफूल तरकारी खेती गरेको भए पनि त्यती आम्दानी हुनसक्दैन थियो। नदी किनारकै नजिक भएपनि सिँचाइको व्यवस्था नहुँदा स्थानीय बासिन्दाले तरुल खेती रोजेको उनले बताए।
तरुल खेती गर्नुअघि उक्त क्षेत्रका बासिन्दाले आकासे पानीको भरमा खेती किसानी गर्ने गरेका थिए। बराहक्षेत्रको राजाबास, प्रकासपुर र चक्रघट्टीमा तरुल खेती गर्न सबै भन्दा पहिलो भक्त सापकोटाले सुरु गरेका थिए। उनैको सिको गर्दै अन्य किसानले आफ्नो खेतबारीमा तरुले खेती सुरु गरेको खड्काले बताए।
बराहक्षेत्रको राजाबास, चक्रघट्टी र प्रकाशपुरमा माघे सङ्क्रान्ति आउनु तीन साता अघिदेखि नै काठमाडौँ, पोखरा, वीरगन्ज, जनकपुर, बुटवल, धरान, इटहरीलगायतका तरुल व्यापारी ट्रक लिएर पुग्ने गरेका छन्। खड्का जस्तै तरुलको व्यावसायिक खेती गर्नेहरु गाउँमा छन्। एक अनुमानित तथ्याङ्क अनुसार उनीहरुले थोक मूल्यमा वार्षिक करिब दुई करोड रुपियाँको तरुल उत्पादन गरेर अन्यत्र निकासी गर्ने गरेका छन्। यो वर्ष तरुल थोक मूल्यमा प्रतिकिलो ४० रुपियाँदेखि ४५ रुपियाँसम्म पुगेको छ। बराहक्षेत्रका कृषकले उत्पादन गरेको तरुल धरान, इटहरी हुँदै काठमाडौँ, पोखरा पुग्दा दोब्बर मूल्य हुने गरेको छ।
व्यावसायिक भएका किसानले तरुल मात्रै नबेचेर तरुलको लहरा र जरामा फल्ने साना बिउँ समेत बेचेर कमाइ गर्न थालेका छन्। गाउँमा प्रतिकिलो एक सय रुपियाँदेखि दुई सय रुपियाँका दरले बिउँ बिक्री हुने गरेको छ। गाउँमा पछिल्लो समयमा एक कठ्ठादेखि १५ कट्ठासम्म तरुल खेती गर्ने कृषक रहेका छन्। अरु अन्नबाली जस्तो धेरै स्याहार गर्नु नपर्ने भएकाले तरुल खेती गर्नेमध्ये अधिकांशले ५० हजार रुपियाँदेखि दुई अढाई लाख रुपियाँ कमाउने गरेका छन्। कम आम्दानी गर्नेले पनि घर नजिकैको करेसाबारीमा एक दुई बोट रोपेर २० देखि ३० हजार रुपियाँसम्मको आम्दानी गर्दै आएका छन्।
बराहक्षेत्र–९ राजाबासका स्थानीय तरुल व्यापारी सुरेश साहका अनुसार यो वर्ष राजाबास र प्रकाशपुरबाट मात्र करिब एक करोड रुपियाँको तरुल उत्पादन हुनुपर्नेमा करिब ५० लाख रुपियाँको मात्र उत्पादन भयो। उनले भने, ‘मैले मात्र करिब १० टनको कारोबार गरेँ। तरुलको माग अत्यधिक भए पनि उत्पादन भएन।
राजाबासका स्थानीय तरुल कृषक मोहन नेपाली, राजन नेपाली, कुलबहादुर राय, कर्णबहादुर विष्ट, टेकबहादुर विष्ट, देविका राय, चक्रबहादुर रायलगायतले पाँच कट्ठादेखि १५ कट्ठासम्म तरुलको व्यावसायिक खेती गर्दै आएका छन्। किसानका अनुसार तरुल रोपेपछि एक वर्षमा मात्रै उत्पादन हुन्छ। चिस्यान पनि नचाहिने र अन्य खेती जस्तो गोडमेल गर्नुनपर्ने भएकोले पछिल्लो समय किशान तरुल खेती गर्नलाई व्यावसायिक रुपमै लागिपरेका छन्। उनीहरुले तरुलमा लाग्ने खुम्ले किराको नियन्त्रण गर्न भने नसकेको गुनासो गर्दै आएका छन्।