काठमाडौं। प्रेमसम्बन्धमा रहँदा खिचेको अश्लील भिडियो सामाजिक सञ्जालमार्फत् पठाएको अभियोगमा प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जालको दुरूपयोग गरी अश्लील भिडियो पठाएर चरित्रहत्या गरेको अभियोगमा दुईजना जनालाई प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाएको हो ।
यसरी पक्राउ पर्नेहरूमा रामेछापको खाँडादेवी गाउँपालिका–८ धुलेबेंसी घर भई काठमाडौं महानगरपालिका–१३ बस्ने १९ वर्षीय श्रीकृष्ण कार्की र भोजपुरको षडानन्द नगरपालिका–५ घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँ बस्ती बस्ने ३१ वर्षीय सरोज कटुवाल छन् ।
उनीहरूले प्रेम सम्बन्ध भएको समयमा खिचिएका तस्बिर तथा भिडियोहरू सम्बन्ध बिग्रिएपछि पीडितका आफन्त र साथीलाई सामाजिक सञ्जाल म्यासेन्जरमार्फत् पठाएको खुलेको छ ।
यस प्रकरणमा दुवैजना पीडित युवतीहरूले उजुरी दिएपछि साइबर ब्यूरोबाट खटिएको प्रहरीले श्रीकृष्णलाई आइतबार र सरोजलाई सोमबार पक्राउ गरेको छ ।
पक्राउ परेकाध्ये भोजपुरका कटुवालले प्रेमिका रहेकी युवतीसँग सम्बन्धमा रहँदा भिडियो र तस्बिर सहमतिबिना खिचेको खुलेको छ । उनले ती अश्लील भिडियो र तस्बिरहरू पीडित युवतीकी बहिनीको फेसबुक म्यासेन्जर) मा पठाई चरित्र हत्या गरेकोले भन्दै जाहेरी दिएकी थिइन् । आवश्यक कारबाही मागसहित ब्यूरोमा निवेदन दिएपछि प्राविधिक विश्लेषणका आधारमा प्रहरीले कटुवाललाई हिरासतमा लिएको हो ।
उनीहरूविरुद्ध उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । दुवैजनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर कारबाही थालिएको ब्यूरोका उपनिर्देशक एवम् एसपी दीपकराज अवस्थीले बताएका छन्।