जोडिनुहोस
  • होमपेज
  • हमासको कब्जामा रहेका विपिनबारे बैंककबाट इजिप्टका समकक्षीसँग परराष्ट्रमन्त्रीको संवाद

हमासको कब्जामा रहेका विपिनबारे बैंककबाट इजिप्टका समकक्षीसँग परराष्ट्रमन्त्रीको संवाद

काठमाडौं। हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि नेपालले पहल जारी राखेको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपिनको रिहाइका लागि पहल गरिदिन विभिन्न देशका समकक्षीहरूसँग संवाद गरिरहेकी छन् ।
देउवाले सोमबार इजिप्टका विदेशमन्त्री डा बदर अब्देल–अतिसँग सोमबार संवाद गरेकी हुन् ।

इजरायल सरकार र हमासबीच युद्धविरामपछि नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले आइतबारबाट मुक्त गर्ने प्रक्रिया थालेको छ।

हमासले आइतबार मात्रै पहिलो चरणमा तीनजना बन्दी युवतीहरूलाई अन्तर्राष्ट्रिय रेडक्रसको जिम्मा लगाएको छ । ती बन्दी युवतीहरू अहिले इजरायलस्थित आ–आफ्नो घरमा पुगिसकेका छन्।

यही क्रममा परराष्ट्रमन्त्री डा. राणाले पहिलो चरणमै विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री डा. अब्देल अतिमार्फत् इजिप्ट सरकारसँग आग्रह गरेकी हुन् ।

आफ्नो स्वास्थ्योपचारका लागि बैंककमा रहेकी मन्त्री डा. राणाले त्यहीँबाट इजिप्टका मन्त्रीसँग फोनवार्ता गरेकी हुन् । कञ्चनपुरका विपिन सन् २०२३ अक्टोबर ७ देखि हमासको कब्जामा छन् ।

फोनवार्ताका क्रममा मन्त्री डा. राणाले इजरायल सरकार र हमासबीचको युद्धविरामका लागि इजिप्टले निर्वाह गरेको भूमिकाका लागि धन्यवाद दिएकी छन्।

त्यसैगरी इजिप्टका विदेशमन्त्री डा. अब्देल अतिले विपिनको रिहाइका लागि आफूले इजिप्टका मध्यस्थकर्तालाई विशेष निर्देशन दिने बताएका थिए ।

इजरायल सरकार र हमासबीच युद्धविरामको कुराकानी भएदेखि नै मन्त्री डा. राणाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिरहेकी छन् ।

केही दिनअघि मात्रै मन्त्री डा. राणाले कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग पनि फोनवार्ता गरेकी थिइन् । खुलाइफी शान्तिवार्ताका प्रमुख वार्ताकार एवम् मध्यस्थकर्ता हुन् ।

त्यसैगरी मन्त्री डा. राणाले इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि केही दिनअघि फोनवार्ता गरी हमासहरूले अपहरण मुक्त गर्न लागिएकाहरू पहिलो चरणमै विपिन जोशीको रिहाइका लागि पहल गरिदिन विशेष आग्रह गरेका थिए ।

विपिनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा. राणाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय मञ्चहरु र बैठकहरूमार्फत् विपिनको रिहाइका लागि आग्रह गरेकी थिइन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका