महेन्द्रनगर। कञ्चनपुर प्रहरीले चार जना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले सीमावर्ती भारतीय सहर खटिमाका चार युवकलाई एक थान पेस्तोलसहित पक्राउ गरेको हो ।
कञ्चनपुर प्रहरीको प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले म्यागेजिन र पेस्तोलसहित खटिमाका जीवनसिंह जिमेवाल, कोमल बिष्ट, उमेदसिंह अधिकारी र सञ्जय जेठीलाई पक्राउ गरिएको जानकारी दिए ।
उनले महेन्द्रनगरबाट गड्डाचौकी नाका हुँदै भारत जान लागेको अवस्थामा जिमेवालले चलाइरहेको युके ०६ एआर ०८४६ नम्बरको कार शंकाका आधारमा चेकजाँच गर्दा हतियार फेला परेको बताए ।
कञ्चनपुर प्रहरीले उनीहरूmलाई माघ ९ गते (बुधबार) पक्राउ गरे पनि आज (शुक्रबार) मात्रै भारतीय नागरिक हतियारसहित पक्राउ परेको घटना सार्वजनिक गरेको हो ।
प्रवक्ता जोशीले पक्राउ परेका भारतीय नागरिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको बताएका छन् ।