जोडिनुहोस
  • होमपेज
  • नवलपुरको सदरमुकाम निर्माण स्थलका रुख काटियो

नवलपुरको सदरमुकाम निर्माण स्थलका रुख काटियो

त्रिवेणी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमुना सदरमुकाम निर्माण स्थलका रुख काटिएका छन् । जिल्लाको कावासोती नगरपालिका–३ मा नमुना सदरमुकाम निर्माण स्थलमा पर्ने छ सय ४२ रुखमध्ये पहिलो चरणमा ४७ रुख काटिएको हो ।

सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवनका सहायक इञ्जनियर कुन्दन तिवारीका अनुसार पहिलो चरणमा भवन निर्माण हुने स्थलका ४७ रुख काटिएको छ ।

विसं २०७६ वैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नमुना सदरमुकामको शिलान्यास गरेका थिए । उक्त स्थानमा रहेका रुख हटाउने निर्णय नहुँदा काम अघि बढ्न सकेको थिएन ।

हालै मन्त्रिपरिषद्ले सदरमुकाम निर्माण स्थलका छ सय ४२ रुख कटानका लागि स्वीकृत प्रदान गरेको थियो । उक्त निर्णयसँगै पहिलो चरणमा निर्माण हुन लागेको भवन रहने स्थानमा पर्ने रुख काटिएको सहायक इञ्जिनियर तिवारीले बताए ।

नवलपुरको नमुना सदरमुकाम निर्माण स्थलका लागि छुट्याइएको एक सय ८४ बिघा जग्गामा सङ्घ र प्रदेशका सबै कार्यालय निर्माणको योजना रहेको छ ।

सोअनुसार पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयको भवन र थप दुई कार्यालयका लागि एकीकृत भवन निर्माण गर्ने गरी चौधरी कन्स्ट्रक्सन रौतहटसँग ठेक्का सम्झौता भएको सहायक इञ्जिनियर तिवारीले बताए । रुख हटाएसँगै केही दिनमा भवन निर्माणको काम सुरु हुने उनले बताए ।

सदरमुकाम निर्माणको जिम्मा पाएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवनले गत आर्थिक वर्षमा विनियोजित रु ५० करोड बजेटबाट पहिलो चरणमा भवन निर्माण थालेको छ । यस वर्ष थप ८० करोड रुपैयाँ विनियोजन भएको छ ।

यसबाट अन्य भवन निर्माणका लागि ठेक्का प्रक्रियामा जाने तयारी गरिएको सहायक इञ्जिनियर तिवारीले बताए । नवलपुरको सदरमुकाम निर्माणका लागि यसै वर्ष थप रु चार अर्बको स्रोत सुनिश्चितताको सहमति प्राप्त भएकाले क्रमशः अन्य भवन निर्माणका कामसमेत हुँदै जाने सहायक इञ्जिनियर तिवारीले बताए ।

शिलान्यास भएको करिब छ वर्षको अवधिमा बल्ल सदरमुकाम निर्माणको काम हुन लागेको हो । नमुना सदरमुकाम निर्माणको गुरुयोजनाअनुसार यहाँ सङ्घ र प्रदेश मातहतका सबै कार्यालय, पार्किङ, बाटिका, २५ हजार दर्शक क्षमताको फुटबल स्टेडियम, १५ हजार दर्शक क्षमताको क्रिकेट स्टेडियम, कर्मचारीका लागि आवास गृह, अतिथि गृह, सभाहल, पुस्तकालय, खाजाघरलगायत संरचना निर्माण हुनेछन् ।

प्रारम्भिक गुरुयोजनाअनुसार आयोजनाको कूल लागत १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रुपैयाँ रहेको छ । यो लागत बढ्ने आयोजनाले बताएको छ ।

एक सय ८४ बिघा क्षेत्रमध्ये ४१ प्रतिशत भूभागमा मात्र भौतिक पूर्वाधार निर्माण हुनेछन् । वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनअनुसार अन्य भू–भाग कङ्क्रिटविहीन राखिनेछ । आयोजना निर्माण स्थलमा हरियाली क्षेत्र राखिनेछ । गण्डकी प्रदेशका ११ जिल्ला परिदृश्य गर्ने ११ खण्डको एक लाख १८ हजार नौ सय १९ वर्ग मिटर क्षेत्रफलमा हरियाली क्षेत्र निर्माण गरिनेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका