जोडिनुहोस
  • होमपेज
  • चारवटा अधिवेशनमा १७ विधेयक मात्रै पास हुनु सुखद खबर हैनः भट्टराई

चारवटा अधिवेशनमा १७ विधेयक मात्रै पास हुनु सुखद खबर हैनः भट्टराई

काठमाडौं। सत्तारुढ नेकपा (एमाले)का सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले विधेयकहरू छिटोभन्दा छिटो अघि बढाउनुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै भट्टराईले देशले छोटो समयमा निकै उपलब्धि हासिल गर्नुपर्ने, तर समयको धेरै सुविधा नभएकाले जनअपेक्षा समयमै सम्बोधन बताए ।

‘संसद कानुन निर्माणको थलो बनोस् भनेर प्रधानमन्त्रीले भन्नुभएको छ । यो अपेक्षाप्रति म आभार प्रकट गर्छु । चारवटा अधिवेशनमा ४० वटा विधेयक दर्ता भएका थिए’, भट्टराईले भने, ‘३७ वटा विधेयक सरकारले दर्ता गरेका थिए । तीनवटा गैरसरकारी विधेयक थिए । दुःखका साथ भन्नुपर्छ – गएका चारवटा अधिवेशनमा १७ वटा विधेयक पास भए ।’

यो स्थिति सुखद नभएको बताउँदै भट्टराईले आजदेखि सुरु भएको संसद्को पाँचौँ अधिवेशनलाई विधेयक अधिवेशनको रूपमा लिन अनुरोध गरे ।

उनले विभिन्न समितिमा १४ वटा विधेयक भएको समेत बताए । प्रतिनिधि सभामा ३ वटा र राष्ट्रिय सभामा ३ वटा विधेयक दर्ता भएको बताउँदै भट्टराईले अन्य विध्येक पनि सरकारको तर्फबाट हुने दर्ता बताए । ‘अध्यादेशबाट जन्मिएको पार्टीले नै अध्यादेश गलत भन्यो’

भट्टराईले अध्यादेशबाट जन्मिएको पार्टीले नै अध्यादेश गलत भन्दै हिँडेको देख्दा अचम्ममा परेको बताए । वर्तमान सरकारले संसद्‌ बैठक स्थगित गरी यसबीच ल्याएको आधादर्जन विधेयकप्रति प्रतिपक्षी दलहरूको असन्तुष्टि छ ।

सोही असन्तुष्टिप्रति इङ्गित गर्दै एमाले सचिव भट्टराईले एमाले फुटाउन माधव नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला अध्यादेश ल्याउन लगाएको तर्क गरे ।

उनले भने, ‘अध्यादेशबाट जन्मिएको पार्टीले नै अध्यादेश गलत भन्दै छ । यो के हुन लागेको हो ? अचम्मै भएको छ ।’ उनले अध्यादेश ल्याउनु नौलो कुरा नभएको भन्दै भारतमा पनि सरकारले चाहिँदा अध्यादेश ल्याएको उदाहरण दिए ।

भट्टराईले अगाडि भने, ‘अध्यादेश ल्याउनु नौलो कुरा हैन । विगतमा हेर्दा विपक्षी दलका नेता प्रधानमन्त्री भएको बेला ०७९ पछि उहाँले तीनवटा अध्यादेश ल्याएर १४ वटा कानुन संशोधन गर्नुभयो । केपी ओलीले मात्र अध्यादेश ल्याएको हैन । नियमित प्रक्रिया हो । अध्यादेशको प्रक्रियामा कसैले विरोध जनाउनु पर्दैन । कन्टेन्टमा हामीसँग केही असहमति छन् भने पुष्पकमल दाहालकै नामबाट संशोधन आओस्‌, छलफल गरौँ ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका