समाचार
संसदमा प्रमुख प्रतिपक्षीको प्रश्न– समितिमा छलफल भइरहेको विधेयक अध्यादेशबाट किन ल्याएको?
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले संसदीय समितिमा छलफलमा रहेका विधेयक अध्यादेशबाट किन ल्याएको भन्दै सरकारलाई प्रश्न गरेको छ।
शुक्रबारदेखि सुरु भएको प्रतिनिधि सभाको पाँचौं अधिवेशनलाई सम्बोधन गर्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डले संविधानमा अध्यादेश ल्याउने व्यवस्था छ भन्दैमा संसदको नियमावलीलाई उपेक्षा गरेर किन ल्याएको भन्दै प्रश्न गरेका हुन्।
‘संविधानको व्यवस्था अनुसार अध्यादेश ल्याउन पाइन्छ। तत्काल कुनै कुराको आवश्यक परेमा ल्याउन पाइन्छ। संविधानमा उल्लेख भएको छ भन्दैमा संसदको नियमावलीलाई उपेक्षा गर्न पाइँदैन,’ उनले भने, ‘संसदीय समितिमा छलफलमा रहेका विधेयकलाई फिर्ता नै नलिएर, प्रक्रिया नै पूरा नगरेर छिटो काम गर्नका लागि अध्यादेश ल्याएको भन्छ मिल्छ? बरु समितिमा छलफल गरेको भए झन छिटो विधेयक पारित हुने थियो। फिर्ता नै नलिएर अध्यादेश ल्याउनु गलत हो।’
पाण्डेले १५ दिनअघि ल्याएको अध्यादेशले अहिलेसम्म कति काम ग¥यो भन्दै प्रश्न गरेका छन्।
संसदीय समितिका बैठक समेत सत्तारुढ दलका सांसदकै कारणले बस्न नसकिरहेका र यता सरकारले अध्यादेश ल्याएर संसदलाई नै कमजोर बनाउन खोजेको उनले आरोप लगाए।
यसका साथै उनले सरकारले सत्ता पक्षलाई काखा र विपक्षलाई र पाखा गर्ने काम गरिरहेको बताएका छन्। सरकारले त नीति नियमका आधारमा आफ्ना कामलाई अगाडि बढाउनु पर्नेमा सत्ता पक्ष र विपक्षलाई काखा र पाखा गर्ने काममा नै व्यस्त रहेको उनले बताए।
उनले भने,‘प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन, गर्न दिन्न भनेको कुरा ठिक छ। तर भुटानी शरणार्थी लगायत जतिपनि काण्ड भइरहेको छन्। तिनमा जनताले भ्रष्टाचार नगरिने कुरालाई गिज्याइरहेको होइन्? बोल्ने कुरा होइन्। जनताले हेरेर बोलेर देखेर पुर्याउने कुरा गर्नुप¥यो। सुशासनको कुरामा सरकारले जसरी काम गर्नुपर्ने हो गर्न सकेको छैन। सरकार त सत्ता पक्ष विपक्षलाई काखा र पाखा पनि गरिहेको छ। सरकार सबैको हो। सरकारले त नीति नियमका आधारमा आफ्ना कामलाई अगाडि बढाउनु पर्छ।’