काठमाडौं। माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजाआराधना गरी मनाइँदैछ ।
वसन्त पञ्चमीको अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिएको छ । वसन्त श्रवणमा राजतन्त्र रहुञ्जेल राजा जाने गरेकामा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति रहने गरेको छ ।
वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायतको सहभागिता रहेको थियो ।
श्रीमद्भागवत पुराणमा उल्लेख भए अनुसार भगवान श्रीकृष्णको खोजीमा रहेकी प्रेमिका राधा लगायतका गोपिनीहरूले वसन्त ऋतुको आगमन भएको भन्दै वसन्त रागमा गाएको गीतलाई वसन्त श्रवणको रुपमा सुन्ने चलन छ ।