जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • रवि लामिछानेविरुद्धको मुद्दामा बहस गर्न तीन जिल्लाबाट चितवन पठाइयो सरकारी वकिल

रवि लामिछानेविरुद्धको मुद्दामा बहस गर्न तीन जिल्लाबाट चितवन पठाइयो सरकारी वकिल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको विपक्षमा सरकारी वकिलहरूको टोली अझ बलियो बनाउने प्रयास गरिएको छ । चितवनको साहारा सहकारी ठगी मुद्दामा थुनछेक बहस भइरहँदा तीन जिल्लाका सरकारी वकिल झिकाइएको हो ।

चितवन जिल्ला अदालतमा जारी बहसलाई थप प्रभावकारी बनाउन छिमेकी जिल्लाबाट समेत सरकारी वकिलहरू झिकाइएका छन् । चितवनका जिल्ला न्यायधीवक्ता रवि न्यौपाने, अमृत सुवेदी, बुद्धबहादुर थापासहित ३ जना सरकारी वकिलले बुधबार बहस गरेका थिए । तर, महान्याधिवक्ता कार्यालयले उक्त मुद्दालाई थप मजबुत बनाउन भन्दै पर्साका जिल्ला न्यायधिवक्ता भोलानाथ निरौला, धादिङका दशरथ पंगेनी र बाराका शम्भुकुमार बस्नेतलाई चितवन पठाएको छ ।

नेपाल सरकारको तर्फबाट बहसलाई मजबुत बनाउन र कानुनी पक्षलाई प्रस्ट्याउन अन्य जिल्लाका वकिलहरू झिकाइएको बताइन्छ । अदालतमा सहकारी पीडितको पक्षमा कानूनी लडाइँ लड्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सुरेन्द्र भण्डारी, रामचन्द्र गौतमसहितका कानुन व्यवसायीहरू पनि सक्रिय छन् । उनीहरूले आजको बहसमा सहभागी हुने वकालतनामा दर्ता गराएका छन् ।

चितवन जिल्ला अदालतका न्यायधीश दयाराम ढकालको इजलासमा जारी बहसको दोस्रो दिनमा जाहेरवालाका वकिलहरूले बहस गरिरहेका छन् । उक्त बहसपछि प्रतिवादी पक्षका ११ जना वकिलहरूले लामिछानेको पक्षमा तर्क प्रस्तुत गर्नेछन् ।

धेरै टिप्पणी गरिएका