![प्रधानमन्त्री स्वास्थ्य समस्याका कारण संसदमा उपस्थित हुन सक्नु भएनः महेश बर्तौला](https://sagarmatha.tv/wp-content/uploads/2024/07/mahesh-bartaula-4-frame-at-1m5s-1024x576.jpg)
काठमाडौं। नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलको नेताले संसदलाई सम्बोधन गर्नेकुरा प्रधानमन्त्रीको जानकारीमा भएपनि स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेको बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले बोल्ने समयमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएको भन्दै गुनासो गरेका थिए ।
शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री संसदमा उपस्थित हुने तयारीमै रहँदा स्वास्थ्यमा असहजता भएको कारण आउन नसकेको बताए ।
उनले भने ‘प्रमुख प्रतिपक्षी दलका नेताले माघ २४ गतेको बैठकमा बोल्दै हुनुहुन्छ भनेर सम्बन्धित पार्टीका प्रमुख सचेतकज्यूले मलाई जानकारी गराउनु भएको थियो । यो विषय प्रधानमन्त्रीज्यूको जानकारीमा समयमै पुगेको समेत अवस्था हो । हिजो उहाँ आउने तयारीमा पनि हुनुहुन्थ्यो । तर उहाँलाई सहजता भएन । स्वास्थ्यमा समस्या भएको कारणले उहाँको हिजो कुनैपनि सार्वजनिक कार्यक्रमहरू रहेन । त्यसले गर्दा उहाँ हिजो आउन नसक्नु भएको हो । अरु कुनै कारण भएर नआउनु भएको होइन । स्वास्थ्यको असहजताले गर्दै आउनु भएन ।’
संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रमुख प्रतिपक्षी दलका नेतालाई निम्त्याउने र प्रमुख प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री पनि उपस्थित रहने प्रचलन छ । तर बिहीबार प्रतिपक्षी दल नेता बोल्दा प्रधानमन्त्री ओली प्रतिनिधि सभा बैठकमा उपस्थित हुनु भएको थिएन । सोही विषयलाई लिएर माओवादीले आपत्ति जनाएको छ ।