![सौराहामा आजदेखि खाना उत्सव सुरु](https://sagarmatha.tv/wp-content/uploads/2025/02/Sauraha-1024x681.jpg)
चितवन। प्रणय दिवसको अवसरमा सौराहामा आजदेखि खाना उत्सव (फूड फेस्टिभल) सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा चितवन (रेवान)को आयोजनामा हरेक वर्ष गरिँदै आएको खाना उत्सवको यो १९औँ संस्करण हो ।
चितवनको पर्यटन विकासका लागि उत्सव आयोजना गरिएको रेबान सौराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । उक्त उत्सवमा प्रवेश टिकटबाट प्राप्त आम्दानीले यस वर्ष पनि सौराहाको पर्यटन मार्ग सौन्दर्यकरण गरिने आयोजकले जनाएको छ ।
उत्सवका कारण सौराहामा पर्यटक आगमनमा ४० प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । आयोजक समितिका संयोजक शम्भुप्रसाद मालीले फागुन ३ गतेसम्म चल्ने खाना उत्सवमा बहुल जातजतिहरूको झाँकीका साथै सिन्धुलीको कर्ने मगर बाजाको प्रस्तुती रहने बताए ।
कलाकारको साङ्गीतिक प्रस्तुती, खाना प्रदर्शनी तथा प्रतियोगिता, ‘वेटर’ र ‘वेटरेस’बीच प्रतियोगिता, डोरी तान प्रतियोगिता, प्रथम रेबान कप महिला फुटबल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता हुने जनाइएको छ ।