![सामाजिक सञ्जाल विधेयकविरुद्ध नेविसंघको प्रदर्शन](https://sagarmatha.tv/wp-content/uploads/2025/02/nebisang-pradarshan-2-1024x768.jpg)
काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सामाजिक सञ्जाल विधेयकविरुद्ध प्रदर्शन गरेको छ । संघका नेता कार्यकर्ताले विधेयकविरुद्ध बुधबार माइतीघरमा प्रदर्शन गरेका छन् ।
विधेयक अभिव्यक्ति स्वतन्त्रताको हकविरुद्ध रहेको भन्दै प्रतिकात्मक विरोध गरिएको गरिएको थियो । प्रदर्शनमा कांग्रेसको एक सूचना लेखेको प्लाकार्डसहित विद्यार्थीहरूले विरोध गरेका थिए ।
कांग्रेसको झण्डामा रहेका चार तारालाई राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र स्वतन्त्रताका सूचकका रूपमा व्याख्या गर्ने गरिएको छ । चार वटामध्ये एउटा तारालाई अभिव्यक्ति स्वतन्त्रताका रूपमा परिभाषित गरिन्छ ।
साथै, ‘डियर केपी बा समृद्ध नेपालमा बोल्न पाइन्न र?, ‘नियमन चाहिएको हो, नियन्त्रण होइन’, ‘प्रश्नसँग डराएको सरकार’ लगायतका नारा सहित विरोध गरिएको थियो ।
सामाजिक सञ्जाल विधेयकमा विवादास्पद विषयहरूमा वास्तविक पहिचान दर्ता गर्न बाध्य बनाउने, ‘अश्लील’ र घृणा शब्दहरूको परिभाषा अस्पष्टता, सरकारलाई इन्टरनेट प्रयोगकर्ताहरूको गतिविधिमा निगरानी, दण्डहरू अनुपातहीन, कारबाही गर्ने अधिकार अदालत बाहिर हुनुलगायत रहेको संघले जनाएको छ ।
विधेयकमा रहेका प्रावधानले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको अधिकार, र गोपनीयताको अधिकारलाई गम्भीर रूपमा खतरामा पार्ने देखिएको संघका केन्द्रीय सदस्य विजय ढुंगानाले बताए ।