जोडिनुहोस
  • होमपेज
  • विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्‍यो अस्वीकार

विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्‍यो अस्वीकार

काठमाडौं । भोलिदेखि सुरु हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि सो पक्षका नेताहरू शीर्ष नेतृत्वलाई निमन्त्रणा पत्र बुझाउने क्रममा छन्।

यसैक्रममा नेता रामपल्टन साह सभापति शेरबहादुर देउवालाई निमन्त्रणापत्र बुझाउन उनको महाराजगञ्जस्थित निवास पुगेका थिए।निवासको कम्पाउन्डभित्र प्रवेश पाएका साहलाई करिब आधा घण्टा कुर्न लगाइएपछि देउवाका स्वकीय सचिव भानु देउवा आएका थिए।

भानु देउवाले आफू के प्रयोजनका लागि आएको हो भनेर सोधेपछि विशेष महाधिवेशनको निमन्त्रणापत्र दिन आएको जानकारी गराएको साहले बताए। “मैले विशेष महाधिवेशनको पत्र बुझाउन आएको भनेपछि भानु देउवाले ‘तपाईंलाई लाज लाग्दैन?’ भन्दै पत्र मेरै गोजीमा हालेर बाहिर निस्कन भन्नुभयो,” साहले भने, “उहाँले पटक–पटक ‘निस्किहाल’ भन्दै हामीलाई बाहिर जान निर्देशन दिनुभयो।”

साहका अनुसार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित अन्य शीर्ष नेताहरू पनि सोही समयमा देउवा निवासमै उपस्थित थिए र उनीहरूलाई भने पत्र बुझाइएको थियो।