
काठमाडौं । अमेरिकाको अध्यागमन नीति उल्लंघन गरेका ३७ जना नेपाली आइतबार मध्यराति विशेष चार्टर्ड विमानमार्फत् काठमाडौं फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति करिब ९ बजे अवतरण गरेपछि उनीहरू मध्यरातसम्म बोरा बोकेर विमानस्थल बाहिरिएका थिए।
अध्यागमन कार्यालयका अनुसार डिपोर्ट गरिएकामध्ये ३२ पुरुष र ५ महिला छन्। वरिष्ठ अध्यागमन अधिकृत तथा विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेका अनुसार उनीहरू विमानस्थलमा पुग्दासम्म सामान्य अवस्थामा थिए। विमानमा यात्रा गर्दा उनीहरूलाई हत्कडी लगाइएको थियो कि थिएन भन्नेबारे स्पष्ट जानकारी भने छैन।
सन् २०२५ को जनवरीदेखि मे महिनासम्म अमेरिकाबाट निष्कासित नेपालीको संख्या १४० पुगेको छ। जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिका निष्कासित भएका छन्।
विगतका वर्षहरूसँग तुलना गर्दा यो संख्या उल्लेखनीय रूपमा बढेको छ। अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए।
प्रवासविद् विश्लेषकहरूका अनुसार अमेरिकामा अध्यागमन उल्लंघनका प्रमुख कारणहरूमा अवैध प्रवेश, भिसाको अवधि सकिएपछि बसिरहनु, र कानूनी प्रक्रिया पूरा नगरी बसोबास गर्नु मुख्य हुन्। साथै, ठगीका शिकार बनेर अवैध बाटोबाट अमेरिका छिर्ने प्रयासमा रहेका धेरै नेपालीहरू दलालमार्फत ठगिएका हुन्छन्। ठूलो रकम बुझाएर अमेरिका पुगेका उनीहरू कानूनी समस्यामा फसेर अन्ततः डिपोर्ट हुने गरेका छन्।
नेपाल फर्किएपछि डिपोर्ट गरिएका नागरिकलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछपछि घर पठाउने गरेको छ। तर, दलालविरुद्ध कुनै उजुरी परे मात्र अनुसन्धान अगाडि बढाइने प्रचलन छ। विदेश जाने युवा पुस्ता आकर्षणका भरमा दलालको झुटा आश्वासनमा फस्ने क्रम नरोकिएकाले विज्ञहरूले सचेत रहन आग्रह गरेका छन्। अमेरिकी अध्यागमन कडाइ र कानूनी कारबाही अझ कडा हुँदै गएकाले वैध प्रक्रिया अपनाउन सरोकारवालाहरूको सुझाव छ।