
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । ह्वाइट हाउसमा द्विपक्षीय वार्तापछि मोदी र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले २००८ को मुम्बई आक्रमणका आरोपी तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने घोषणा गरेका छन् । ‘भारत र अमेरिकाको एकता र सहयोगले राम्रो संसारलाई आकार दिन सक्छ’, मोदीले भने, ‘भारत र अमेरिकाबीचको साझेदारीले लोकतन्त्र र लोकतान्त्रिक मूल्य–मान्यता र प्रणालीहरूलाई बलियो बनाउँछ । हामी इन्डो–प्यासिफिकमा शान्ति, स्थिरता र समृद्धि बढाउनसँगै काम गर्नेछौं ।’
मोदीले दुवै देशले सन् २०३० सम्ममा द्विपक्षीय व्यापार दोब्बर गर्ने लक्ष्य राखेको बताए । उनले भने, ‘भारत र अमेरिका आतंकवादविरुद्धको लडाईंमा दृढतापूर्वक एकसाथ उभिएका छन् । सीमापार आतंकवाद उन्मूलन गर्न ठोस कारबाही आवश्यक छ । यसमा हामी सहमत छौं ।’
ट्रम्पले भारतसँग अमेरिकाको व्यापार घाटा लगभग १०० बिलियन डलर रहेको बताए । उनले भने, ‘मोदी र म पारस्परिक व्यापारलाई सुदृढ पार्न र अमेरिकीहरूका लागि यसलाई अझ निष्पक्ष बनाउन छलफल सुरु गर्नेछौं ।’ यस क्रममा उनीहरूले रुस र युक्रेनबीच जारी युद्धका विषयमा पनि बोलेका छन् । भारतीय प्रधानमन्त्री मोदीले मानिसहरू रुस–युक्रेन द्वन्द्वमा भारत तटस्थ रहनुपर्छ भन्ने सोच्छन्, तर यो गलत भएको बताए ।
उनले भने, ‘भारत शान्तिका पक्षमा छ । हामी दुवै पक्ष (युक्रेन र रुस) सँग वार्ता गर्नुपर्ने निष्कर्षमा पुगेका छौं ।’ मोदीले रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले गरिरहेको प्रयासको प्रशंसा गरे । यस क्रममा ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग आफ्नो फोन वार्ता भएको सुनाउँदै युक्रेनमा युद्ध अन्त्य हुने आशा व्यक्त गरे ।
यसअघि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ अकाउन्टमा लेखेका छन्, ‘रुस र युक्रेनसँग उत्कृष्ट वार्ता भएको छ । युद्ध अन्त्य हुने सम्भावना धेरै छ ।’ यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुस–युक्रेन युद्धबारे हुने वार्तामा आफूलाई सहभागी नगराए कुनै पनि सम्झौता स्वीकार नगर्ने बताएका छन् ।