
काठमाडौं। कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको अवरुद्ध निर्माण तत्काल अघि बढाउने सहमति भएको छ ।
गृहमन्त्री रमेश लेखकको पहलमा शुक्रबार गृह मन्त्रालयमा भएको सम्वद्ध निकायका मन्त्री, सचिव, महानिर्देशक र प्रधानसेनापति सहितको उच्च स्तरीय बैठकबाट मझगाउँ विमानस्थलको विषय सुल्झिएको हो । अब विमानस्थलको निर्माण तत्काल अघि बढ्नुका साथै वन क्षेत्रमा पर्ने जग्गाको ईआइएपनि संगसंगै हुने भएको छ ।
बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको ६ बिघा विमानस्थल निर्माणका लागि उपयोग गर्न दिने, सेनाको फुटबल मैदान र सो स्थानमा रहेका सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाइने विषयमा सहमति भएको हो ।