
काठमाडौं। सुर्खेतबाट काठमाडौँ आउँदै गरेको बस गएराति दाङको बबईमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । मंगलबार राति सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०७०१ नम्बरको बस दाङको बबई गाउँपालिका–२ स्थित तल्लो ट्वाङ्खोला नजिक दुर्घटना भएका हो ।
दुर्घटना राति करिब साढे ९ बजे पूर्वपश्चिम राजमार्गको घुम्तीमा भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायाले जानकारी दिएका छन् । दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन् । तीमध्ये अधिकांशलाई सामान्य चोट लागेकोले उपचारपछि डिस्चार्ज गरिएको छ ।
केहीलाई भने गम्भीर चोट लागेकोले थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ, भने अन्य घाइतेहरूको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरी निरीक्षक रोकायाका अनुसार सबै घाइतेहरू हाल खतरा मुक्त छन् । दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।