
काठमाडौं । चर्चित लोकगायक लक्ष्मण चापागाईंको नयाँ मौलिक लोकगीत ‘बग्दै होला दरम खोलानी’ सार्वजनिक भएको छ । शनिबार सार्वजनिक गरिएको यस गीतमा निश्वार्थ प्रेम र विछोडपछि पनि प्रेमीको समर्पणलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ ।
गीतको शब्दमा प्रेम छुट्टिए पनि साँचो माया गर्नेहरूले एकअर्कालाई सधैँ सम्झने भाव व्यक्त गरिएको छ । समाजमा विछोडपछि एकअर्काप्रति घृणा फैलाउने प्रवृत्तिको बीचमा पनि प्रेमका सकारात्मक पक्षहरू उजागर गर्ने प्रयास गरिएको गीतका सर्जक लक्ष्मण चापागाईं बताउँछन् ।
‘बग्दै होला दरम खोलानी’ गीतमा लक्ष्मण चापागाईं र सुनिता क्षेत्रीको सुमधुर स्वर रहेको छ । गीतको शब्द रचना स्वयं लक्ष्मण चापागाईंले गरेका हुन् भने संकल्प सुवेदीको संगीतमा रमेश सेन्चुरीले एरेन्ज गरेका छन् । म्युजिक भिडियोको निर्देशन गिरि प्रसाद भुसालले गरेका छन् । भिडियोमा लक्ष्मण भुसाल, सुप्रिया हमाल, र रहमान बस्नेतले मनमोहक अभिनय प्रस्तुत गरेका छन् । गीतको दृश्यांकनले प्रेम र विछोडका भावनाहरूलाई थप सजीव बनाएको छ ।
२०६४ सालदेखि औपचारिक रूपमा लोक संगीतको यात्रा थालेका लक्ष्मण चापागाईंले मौलिक लोकभाका जोगाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । हाल लोक संगीतमा विरह, बेदना, पीडा र विछोडका गीतहरू घट्दै गएकोमा उनले चिन्ता व्यक्त गरेका छन् । चापागाईंले लोक संगीतलाई मौलिकतासँगै जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । ‘भड्किलो गीतहरूले मौलिक लोक संगीतलाई छायाँमा पार्दै लगेको छ, त्यसैले सर्जकहरूले मौलिकतामा ध्यान दिनुपर्छ,’ उनले भने ।
लोकप्रिय गीतहरू र पुरस्कार ‘पाय तिम्रो साथ’, ‘मेरो अन्तिम धोको’, ‘पुराइदेऊ’, ‘दुःख पर्दा साथ पाइएन’, ‘चील गाडी’, ‘देशले कोल्टो फेर्छ’ जस्ता थुप्रै चर्चित गीतहरू चापागाईंका सफल सिर्जनाहरू हुन् ।
‘बग्दै होला दरम खोलानी’ गीत चौथो विशाल लुम्बिनी राष्ट्रिय लोक दोहोरी अवार्डबाट सम्मानित समेत भएको छ । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री गोकर्ण विष्टको प्रमुख आतिथ्यमा चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा यस गीतले पुरुष गायनतर्फ अवार्ड जित्न सफल भएको हो ।
मौलिक लोक संगीतलाई संरक्षण गर्दै नयाँ पुस्तालाई लोक भाकामा आकर्षित गर्ने चापागाईंको प्रयास सराहनीय मानिएको छ।