
गण्डकी : पर्यटन राजधानी पोखरामा पहिलोपटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ नेपाल–इण्डिया चाइना–प्रदर्शनी आजदेखि सुरु भएको छ। छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ प्रदर्शनी सुरु गर्न लागिएको जनाइएको छ।
तीन दिनसम्म चल्ने प्रदर्शनीमा पर्यटन क्षेत्रका ८० क्रेता, ७० बिक्रेता र ७५ अन्तरराष्ट्रिय प्रतिनिधिसहित छ सयभन्दा बढीको सहभागिता छ।
प्यासिफिक एशिया ट्राभल एशोसिएसन ९पाटा० नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् र अन्य सरकारी तथा निजी क्षेत्रका साझेदार सरोकारवालाहरुको सहकार्यमा प्रदर्शनी आयोजना गरिएको जनाएको छ।
प्रदर्शनीले तीन देशका सरकारी र निजी क्षेत्रका पर्यटन र सरोकारवाला संस्थालाई एकै थलोमा ल्याएर उनीहरुबीच व्यावसायिक अनुभवको साथै सञ्जाल विस्तार र व्यापार अवसरहरू सृजना गराउने विश्वास लिइएको छ।
पोखरा प्रकृतिप्रेमीका साथै साहसिक गतिविधिमा रमाउनेका लागि गन्तव्य बन्दै गएको छ। समुद्री सतहदेखि ८२२ मिटरको उचाइमा अवस्थित पोखरा तालहरूको सहर र हिमालय र पदमार्गको प्रवेशद्वारका रुपमा पनि चिनिन्छ। यहाँबाट विश्वका १४ अग्लो चुचुराहरूमध्ये तीन धौलागिरी, अन्नपूर्ण–१ र मनास्लु हिमाल हेर्न सकिन्छ।
‘नाइस फर माइस एण्ड मोर’ भन्ने नाराका साथ आयोजना भएको प्रदर्शनीले पोखरालाई पदयात्रा र साहसिक पर्यटन केन्द्रका रूपमा मात्र नभई बैठक, सभा सम्मेलन, प्रोत्साहन, विवाह तथा अन्य उत्सव, महोत्सव, समारोह, मेला र प्रदर्शनीका लागि आकर्षक गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने पाटा नेपालले जनाएको छ।
पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सिइओ सुरेशसिंह बुडालले दुई ठूला अर्थतन्त्र तथा पर्यटन स्रोत बजार भारत र चीनमा नेपालको पर्यटन सम्भाव्यता र एकीकृत व्यावसायिक अवसरलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए।
प्रदर्शनीको दोस्रो दिन फागुन १३ गते द नलेज फोरमले ‘भिसा डेस्टिनेसन इनसाइट्सः सपोर्टिङ द टुरिजम इकोसिस्टम टु सस्टेनेबल हस्पिटालिटी फ्रम कन्स्ट्रक्सन टु अपरेसन’लगायतका विषयमा पर्यटन विशेषज्ञहरुले ज्ञान आदनप्रदान गर्नेछन्। साथै प्रदर्शनीमा बिटुबी प्रदर्शनी, व्यावसायिक बैठक तथा सञ्जाल विस्तारका सत्रहरु पनि आयोजना हुनेछन्।
प्रदर्शनीले भारत र चीनबाट धेरैभन्दा धेरै पर्यटक नेपाल ल्याउनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै पर्यटन सम्भावना र एकीकृत व्यापार प्रवद्र्धनका लागि पनि प्रदर्शनी सहयोगी बन्ने विश्वास गरिएको छ। कार्यक्रमले तीन देशबीच विशेष गरी पर्यटन, आतिथ्य र सम्बन्धित उद्योगका क्षेत्रमा व्यापारिक सञ्जाल र सहकार्य अभिवृद्धि गरी व्यापार सम्बन्धलाई थप सुदृढ गर्न मद्दत गर्नेछ।
पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भ पारेर पहिलोपटक करिब २० करोड पर्यटकको यात्रा व्यवस्थापन गर्ने नेपाल, भारत र चीनका विश्वप्रसिद्ध ट्राभल कम्पनीहरू, टुर अपरेटरहरू, पर्यटनविद्हरू, तथा आयोजक संस्थाका अन्तरराष्ट्रिय प्रतिनिधिहरू पोखरामा भेला हुन महत्त्वपूर्ण र ऐतिहासिक क्षण भएको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बताए।