
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसदहरू खरिदब्रिकी गरेर भूमि अध्यादेश फिर्ता गराउनेतिर सरकार गएको खण्डमा आफूहरू जनतातिर फर्कने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित अध्यादेशबारे विज्ञसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।
‘सरकारले यो अध्यादेश (भूमि) फिर्ता लिओस् । हैन सांसद खरिद बिक्री गरेर यो पास गराउँछ भने हामी जनताकोमा जान्छौं, र जनआन्दोलनको बाटो पक्रन्छौं, यो स्पष्ट भए हुन्छ,’ उनले भने ।
साथै, उनले सुकुमवासीको समस्या पहिचान गरेर सधैंका लागि समस्या समाधान गर्नुपर्ने बताए । ‘धेरैवटा अध्यादेश विगतमा सरकारले फिर्ता लिएका छन् । सुकुमवासी भूमिहीनको पहिचान गरौं, समस्या समाधान कसरी गर्ने विज्ञ राखेर बहस गरौं, र वैज्ञानिक बाटो अपनाएर सधैंका लागि समस्या समाधान गरौं,’ उनले भने ।