
सुदूर पूर्वको ताप्लेजुङमा अवस्थित पाथीभरा–मुक्कुमलुङमा यतिबेला सरकार र स्थानीय सरोकारवालाबीच झडपका घटना बढ्दै गएका छन् । त्यहाँ केबलकार बनाउन नहुने माग राखेर आन्दोलन भइरहेको छ । तर, लगानीकर्ता व्यवसायीलाई साथ दिएको सरकारले बल प्रयोग गरेर काम अघि बढाउन खोज्दा गोली चल्नुका साथै घाइते हुनेहरुको संख्या पनि थपिँदै गएको छ । यसबीचमा सरकार र आन्दोलनकारीबीच वार्ताको प्रयास पनि भएको थियो । तर, उक्त वार्ता अघि बढ्न सकेन । अहिले सरकार र आन्दोलनकारी दुबै पक्ष आमने–सामने मुठभेठको अवस्थामा पुगेका छन् । वार्ताका लागि मध्यस्थता गर्ने पनि कोही निस्कएको छैन ।
आन्दोलनकारीहरुले त्यहाँ सरकारले भिजिलान्तेको प्रयोग गरेर राज्य आतंक मच्चाएको, गोली चलाएको र मानवअधिकारको उल्लंघन गरिरहेको गुनासो गरेका छन् । व्यक्तिको घरमा आन्दोलनकारीले आगो लगाएको भन्दै भ्रमपूर्ण प्रचार राज्यबाटै भइरहेको आन्दोलनकारीको गुनासो छ ।
उता, केबलकारमा लागानी गरेका चन्द्र ढकाललगायत निजी क्षेत्रका व्यवसायीहरु भने लगानीको वातावरण बनाउनुपर्ने बताउँछन् । त्यस्तै, सत्ता पक्षका नेताहरुको भनाइ पाथीभरामा केबलकार बन्दा ताप्लेजुङमा विकासको सम्भावना बढ्ने दाबी गर्दछन् ।