
काठमाडौं । नेकपा (एमाले)का सचिवसमेत रहेका सांसद गोकर्ण विष्टले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजा बनाउने चाहना मृगतृष्णामात्रै भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले राजा फर्कन सम्भव नभएको बताए ।
“पूर्वराजाले फेरि राजा बन्ने चाहना व्यक्त गरेका छन् । सडकमा विभिन्न हिसाबले यस्ता गतिविधि देखा परेका छन्,” उनले भने, “जुन प्रकारको हर्कत देखिएको छ । मृगतृष्णामात्रै हो, सम्भव हुन सक्दैन ।”
उनले बहुदलवादीले सहमति उल्लंघन नगरेको र विगतमा पनि राजाले नै उल्लंघन गर्ने गरेको बताए । उनले जनालाई रैती बनाउने सपना नदेख्न पनि चेतावनी दिए ।
राजा फर्काउने प्रयत्न ‘धमिलो पानीमा माछा मार्न खोज्नु’मात्रै भएको पनि बताए ।
उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनले जनतामा पैदा भएको निराशा यही सरकारका कारण भनेकामा आपत्ति जनाए ।
“गणतन्त्रपछि उहाँहरू धेरैपटक सरकारमा हुनुहुन्छ । यदि राम्रा काम भएका छन् भने जस पनि लिनुपर्छ । अब जस पनि लिनुपर्छ,” उनले भने ।
प्रचण्डको अभिव्यक्ति र व्यवहारले नै गणतन्त्र विरोधीलाई प्रश्रय बढेको त छैन भन्ने आशंका पनि व्यक्त गरे ।