जोडिनुहोस
  • होमपेज
  • कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको बताएपछि रास्वपा र कांग्रेसबीच भनाभन

कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको बताएपछि रास्वपा र कांग्रेसबीच भनाभन

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले नेपाली कांग्रेसका नेताहरूले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएपछि संसद्मा कांग्रेस र रास्वपाका सांसदबीच भनाभन भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका सांसद शिशिर खनाल र सुमना श्रेष्ठले काठमाण्डौको तारकेश्वर नगरपालिकाको लोकतान्त्रिक चोकको जग्गा कांग्रेस नेताले मिचेको विषय उठाएपछि विवाद भएको हो ।

बैठकमा खनालले काठमाण्डौ क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ को लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहानअन्तर्गत पर्ने नेपाल सरकारको नाममा रहेको जग्गा नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको आरोप लगाउनुभयो । त्यसपछि कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आपत्ति जनाउन सभामुख देवराज घिमिरेसँग समय मागे पनि पाउनुभएन ।

त्यसपछि शून्य समयमा नै रास्वपा सांसद सुमना श्रेष्ठले पनि त्यही जग्गाबारे बोल्दै कांग्रेस नेताले कब्जा गरेको बताएपछि कांग्रेसका सांसदहरू राजेन्द्र बजगाईं, राजन केसी, सचेतक सुशीला थिङ, कान्तिका सेजुवाललगायतले कुर्सीबाट उठेर विरोध जनाए ।

सांसद केसीले नियमापत्ति जनाउन खोज्दा फेरि पनि सभामुख घिमिरेले समय दिनुभएन । उहाँले सांसदले राखेको विषय तथ्य र प्रमाण एवम सत्यतामा टेकेर राखिएको संसद्ले बुझ्ने भन्दै तत्काल रेकर्डबाटै हटाउन नसकिने तर यसलाई अध्ययन अनुसन्धान गरेर मात्रै हटाउन सकिने भन्दै वादविवाद नगर्न आग्रह गर्नुभयो ।

कांग्रेस सांसदहरूले संसद्मा सीधै पार्टीलाई दोष नदिई जग्गा कब्जा गरेको भएमा व्यक्तिको नाम भन्न माग गरेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका