
नेकपा एमालेले चैतभित्रै सबै वडाको अधिवेशन सक्न पार्टीपंक्तिलाई निर्देशन दिएको छ । केन्द्रीय संगठन विभागका इन्चार्ज काशीनाथ अधिकारीले आन्तरिक सूचना जारी गर्दै चैतभित्र वडाहरूको अधिवेशन सक्न निर्देशन दिएका हुन् । ‘तीन महिने जरा अभियान वैशाखमा सकिँदैछ । तर वडा अधिवेशन चैतभित्रै सक्न सूचना पठाइएको छ’ अधिकारीले भने, ‘वडा अधिवेशन सँगसँगै गर्नु पर्ने अरू काम पनि अगाडि बढाउन भनिएको छ ।’
वडा स्तरमा केन्द्रीत हुनेगरी एमालेले गत माघदेखि तीन महिने अभियान चलाइरहेको छ । उक्त अभियानका क्रममा चैतभित्र गरिसक्नुपर्ने कामलाई अधिकारीले १० बुँदामा सूचीकृत गरेका छन् । जसमा सदस्यता नवीकरण, संगठनात्मक शुद्धीकरण, जनताका समस्या पहिचान र समाधान, प्रभावकारी प्रचार, कार्यालय व्यवस्थापन लगायत छन् ।