जोडिनुहोस
  • होमपेज
  • इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस भइरहेको छ ; प्रचण्ड

इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस भइरहेको छ ; प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’ले केही मानिसहरूले इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस गरिरहेको बताएका छन् ।

राजेन्द्र श्रेष्ठद्वारा लिखित ‘ऐतिहासिक नेपालमण्डल’ पुस्तकको विमोचन समारोह सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले राजावादीहरूका पछिल्ला गतिविधिलाई इतिहासको चक्का पछाडि फर्काउने दुस्साहस भनेका हुन् ।

‘अहिले इतिहासको चच्का पछाडि फर्काउने दुस्साहस केही मानिसले गर्दैछन् । मैले तराईमा अभियानमा हिँड्दै गर्दा भनेको थिएँ– अलिकति मुर्खता त पहिल्यै भइसकेको छ, दरबारियाहरूबाट । अब फेरि फर्किन्छु भन्यो भने अर्को मुर्खता हुन्छ, त्यो दुस्साहस नगर्नु सही हुन्छ । तर, उनीहरू दुस्साहस गरेर अगाडि बढ्न खोजेका छन्,’ प्रचण्डले भने ।

उनले जनतालाई उचाल्ने कोसिसको सबैले प्रतिवाद गर्नुपर्नेमा पनि जोड दिए ।

‘अहिले प्रतिक्रियावादीहरूले जनता भनेर केही मानिसहरूलाई उचाल्ने कोसिस भएको छ । हामी सबैले त्यसको प्रतिवाद गर्नुपर्ने हुन्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘जे जति अधिकार प्राप्त भएका छन्, त्यसको रक्षा गर्ने दायित्व पनि जसले यो परिवर्तन ल्यायो यसैको हो । र, यसलाई थप परिमार्जन र सुदृढ गर्ने दायित्व पनि तपाईं हाम्रो नै हो ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रले दिएको अधिकारका बारेमा जनतालाई बुझाउन नसक्नु आफूहरूको कमजोरी भएको स्वीकार गरे ।

‘हाम्रो कमजोरी के भयो भने, संघीय लोकतान्त्रिक गणतन्त्रले दिएको अधिकारबारे हामीले जनतालाई राम्रोसँग बुझाउन सकेनौँ,’ उनले भने, ‘यो बीचमा भएका प्रगति पनि के-के हुन् भन्ने कुरा पनि राम्रोसँग बुझाउन सकेनौँ । त्यो चाँहि हाम्रो कमजोरी भयो । तर, केही पनि भएन भन्ने कुरा बिल्कुल गलत हो ।’

धेरै टिप्पणी गरिएका