
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहसहितको सरकारी टोलीले आन्दोलनरत शिक्षक महासंघलाई सिंहदरबारमा आज (शुक्रबार) दिउँसो ३ बजे छलफलका लागि बोलाए पनि महासंघ वार्तामा सहभागी भएन।
शिक्षक महासंघको आन्दोलन परिचालन समितिकी संयोजक तथा सहअध्यक्ष नानुमाया पराजुलीले सरकारको वार्ताको प्रस्ताव अस्वीकार गरेको जानकारी दिइन्। हामीलाई वार्तामा बोलाइएको हो, तर हामीले खारेज गर्यौं। हामी वार्ता होइन, शिक्षा ऐन मागिरहेका छौँ, पराजुलीले भनिन्, हामी आन्दोलनको मैदानमै छौं, सिंहदरबार जाँदैनौं ।
यसअघि बिहीबार कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा सरकारी पक्षबीच छलफल भएको थियो। त्यसपछि सरकारी टोलीले वार्ताका लागि शिक्षक महासंघलाई औपचारिक रूपमा बोलाएको थियो। आजको छलफलमा गृहमन्त्री, प्रमुख सचेतक, र मुख्य सचेतकहरू पनि सहभागी हुने भनिएको थियो। यद्यपि शिक्षक महासंघ नआए पनि सरकारी टोली छलफलका लागि उपस्थित थियो।
शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरबाट शिक्षकहरू काठमाडौंमा जम्मा भएका छन्। उनीहरूले २० चैतदेखि लगातार प्रदर्शन गरिरहेका छन्। २०८० असोजमा सरकारले शिक्षा ऐन ल्याउने सहमति गरे पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै महासंघले असन्तुष्टि जनाउँदै आएको छ।
महासंघले यसपटकको आन्दोलनलाई अन्तिम लडाइँ भन्दै सम्झौतामात्र होइन, ठोस कार्यान्वयन चाहिएको अडान लिएको छ।




































