
काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर भएका विभिन्न विपद्जन्य घटनामा तीन जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबारदेखि आजसम्मको अवधिमा ५९ जिल्लामा १०९ वटा विपद्का घटना भएका हुन्। यी घटनाहरूमा मानवीय क्षतिसँगै ठूलो आर्थिक नोक्सानी भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले चट्याङ लागेर तीन जनाको मृत्यु भएको र १३ जना घाइते भएको जानकारी दिए। उनले हावाहुरीका कारण एक जना र जनावरको आक्रमणबाट दुई जना घाइते भएको बताए।
विपद्का यी घटनाहरूमा २२ वटा पशुचौपायको पनि मृत्यु भएको छ। प्राधिकरणका अनुसार यी घटनाहरूबाट दुई करोड ९० लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।
प्राधिकरणले दिएको जानकारी अनुसार १२ जिल्लामा आगलागीका १४ घटना, १३ जिल्लामा चट्याङका १७ घटना र १७ जिल्लामा हावाहुरीका घटना भएका छन्।





































