
डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा इन्धन बोकेको डुंगामा आगलागी हुँदा कम्तीमा १४३ जनाले ज्यान गुमाएका छन् भने धेरैजना अझै बेपत्ता रहेका छन् । यो दुर्घटना इक्वेटोर प्रान्तको राजधानी म्बान्डाका नजिकै विश्वकै सबैभन्दा गहिरो र विशाल कंगो नदीको संगमस्थलमा भएको हो ।
स्थानीय नागरिक समाजका नेता जोसेफ लोकोन्डोका अनुसार केही व्यक्तिको मृत्यु आगोमा जलेर र केहीको डुबेर भएको पुष्टि भएको छ। उनले मृतक संख्या १४५ पुगेको अनुमान गरेका छन् । डुंगामा खाना पकाउने क्रममा लागेको आगो इन्धनमा फैलिँदा ठूलो विस्फोट भई आगलागी भएको बताइएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा डुंगाबाट आगो सल्किरहेको र धुवाँ निस्किरहेको देखिन्छ। डुंगा किनाराबाट टाढा फसेको अवस्थामा देखिएको छ।
घाइतेहरूलाई उद्धार गरी अस्पतालमा उपचारको लागि पठाइएको जनाइएको छ। धेरै परिवारहरू आफ्ना प्रियजनहरूको अवस्थाबारे अझै अनविज्ञ रहेको पनि लोकोन्डोले बताए । प्रभावित परिवारहरूप्रति समवेदना व्यक्त गर्दै, स्थानीय अधिकारीहरूले आवश्यक उद्धार तथा राहत कार्य तीव्र रुपमा अगाडि बढाइरहेका छन् ।





































