
म्याग्दी। सत्ताइस वर्षअघि ट्र्याक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक अब कालोपत्रे हुने तयारीमा छ। बेनी नगरपालिका–१ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सात किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरी कालोपत्रका लागि सवबेस र बेस बिछ्याउने काम सुरु भएको छ।
सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत सञ्चालित यो सडक चालु आर्थिक वर्षभित्र कालोपत्रे गर्ने लक्ष्य राखिएको छ। कार्यालयका सवइञ्जिनियर जीवन पौडेलले बेस र सवबेस बिछ्याइएको चार किलोमिटर पाँच सय मिटरमा कालोपत्रे गर्न लागिएको जानकारी दिए। उनले एक किलोमिटर दुई सय मिटर ढलान भइसकेको र थप दुई सय मिटर ढलान तथा तीन किलोमिटर कालोपत्रका लागि संरचना निर्माण अन्तिम चरणमा पुगेको बताए। नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइको आधुनिक प्रविधिको कालोपत्रे र ढलान गरिनेछ।
विसं ०५६ मा ट्र्याक खोलिएको यो सडक बेनी नगरपालिका १, २, ४ र बागलुङ नगरपालिकाको मालिकाका बासिन्दाले प्रयोग गर्छन्। यसअघि एक घण्टा लाग्ने यात्रा समय अहिले २० मिनेटमा छोटिएको छ।
यो योजना निर्माणका लागि विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभीले रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो। तीस महिनाको ठेक्का अवधि भएको योजनाको म्याद २०८२ फागुन महिनासम्म थपिएको छ। सडक डिभिजनका अनुसार हाल ७५ प्रतिशत भौतिक प्रगति भएको योजनाको वित्तीय प्रगति ५९ प्रतिशत छ। निर्माण कम्पनीका प्राविधिक अरुण सेढाइले पर्याप्त बजेट विनियोजन नभए पनि थप भएको समयअघि नै योजना सम्पन्न गर्न लागिएको बताए।
चालु आर्थिक वर्षमा विनियोजन भएको रु चार करोड बजेट खर्च भइसकेको योजनाका लागि थप बजेट व्यवस्थापन गर्न सडक डिभिजनले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा प्रस्ताव गरेको छ। सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एक रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न रु ४०–४० करोड विनियोजन गरेको थियो। अघिल्लो कार्यकालका प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाको सिफारिसमा यो आयोजना छनोट भएको थियो।
सङ्घीय सरकारकै बजेटबाट सडकको प्रवेशविन्दुमा पर्ने रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किलोमिटर तीन सय मिटर कालोपत्रे र तीन सय मिटर सडक ढलान गरिएको थियो। यसैगरी, भकिम्ली–बरङ्जा–अर्मनको किमचौर हुँदै ताराखोलासम्म मार्ग खोलिसकिएको छ।





































