जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री ओलीको प्रतिबद्धता: राष्ट्रिय आँखा स्वास्थ्य रणनीति कार्यान्वयनमा सरकार दृढ

प्रधानमन्त्री ओलीको प्रतिबद्धता: राष्ट्रिय आँखा स्वास्थ्य रणनीति कार्यान्वयनमा सरकार दृढ

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

बुधवार इन साइट लाइभ २०३० अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नयाँ राष्ट्रिय आँखा स्वास्थ्य रणनीति कार्यान्वयनमा सरकार दृढ रहेको बताए। नेपालले नयाँ राष्ट्रिय आँखा स्वास्थ्य रणनीति अनुमोदन गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस रणनीतिले आँखा स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवाहरूमा एकीकृत गर्न प्राथमिकता दिएको प्रमाणित हुने बताए।

आँखा स्वास्थ्यलाई अब एकल कार्यक्रमको रूपमा नहेरिने र यो सरकारको सार्वजनिक स्वास्थ्य संरचनाको हिस्सा बनेको उनको दाबी थियो। सरकारले विद्यालयमा आधारित दृष्टि जाँच कार्यक्रम सुरु गरेको जानकारी दिँदै उनले विद्यालय नर्स कार्यक्रम पनि सुरु भइसकेको बताए, जसमा आँखा स्वास्थ्यलाई विद्यार्थी कल्याणको मुख्य हिस्साको रूपमा समावेश गरिएको छ। यसले दिगो विकास लक्ष्य ४-५ अनुरूप लैङ्गिक समानता र शिक्षामा पहुँचलाई अघि बढाउने उनको भनाइ थियो। आँखा स्वास्थ्य सूचकहरूलाई देशको राष्ट्रिय स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा समावेश गर्न लागिएको जानकारी पनि उनले गराए।

प्रधानमन्त्री ओलीले सरकारले स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२३–२०३० मा महत्त्वाकाङ्क्षी लक्ष्यहरू निर्धारण गरेको र जसमा प्रभावकारी मोतियाबिन्दु शल्यक्रिया कभरेजलाई ३५.४ प्रतिशतबाट ७० प्रतिशतमा दोब्बर गर्ने प्रतिबद्धता जनाएको बताए। आँखा स्वास्थ्यले गरिबी र भोक अन्त्य गर्नेदेखि असमानता घटाउने र जलवायु लचकता प्रवर्द्धन गर्ने धेरैजसो दिगो विकास लक्ष्यहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पार्ने उनले बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका