
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ र १७ जोड्ने गैरीगाउँस्थित भित्री कच्ची सडक भासिँदा एक पिकअप गाडी जमिनभित्र हराएको छ।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार ना४च ४८३३ नम्बरको माछा बोक्ने सिंगल क्याप बलेरो गाडी सडक भासिँदा भित्र धँसेको हो। गाडीमा घाँस काट्ने मेसिन पनि लोड गरिएको थियो।
घटना शुक्रबार दिउँसो भएको हो। गाडी भासिन थालेपछि चालक र सहचालक हाम फालेर जोगिएका थिए। सहचालकका अनुसार गाडीलाई डोरीले तान्ने प्रयास गरिएको थियो, तर गाडी डोरीसहितै भासिएको हो।
प्रत्यक्षदर्शीहरुले गाडी करिब ५ सेकेण्डमै हराएको बताएका छन्। सडक भासिएको स्थानमा माछापालनका लागि खनिएको बोरिङ रहेको र सोही कारण जमिन भासिएको अनुमान गरिएको छ।
प्रहरीका अनुसार गाडी पानीमा डुबेको र भाग देखिएको छैन। हाल पानी कटाएर गाडीको खोजी कार्य भइरहेको छ।




































