
भीमफेदी। राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा आज बिहान यात्रीवाहक सवारीसाधन दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको छ।
मकवानपुरको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको सवारीसाधन दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार गम्भीर घाइते हुनेहरूमा राक्सिराङ–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान र उनकी ७० वर्षीया पत्नी फूलमाया घलान, ३८ वर्षीय रुपबहादुर राउत र ४८ वर्षीय दीपक खड्का रहेका छन्।
यस्तै, दुर्घटनामा ५० वर्षीय सूर्य अधिकारी र १४ वर्षीय कुमार तामाङ तथा राक्सिराङ गाउँपालिका–९ निवासी २८ वर्षीय सुजन तामाङलाई भने सामान्य चोट लागेको प्रहरीले जनाएको छ। दुर्घटनाको खबर पाउनासाथ प्रहरी चौकी कान्द्राङबाट प्रहरी सहायक निरीक्षक भरतकुमार खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगी उद्धार कार्य गरेको थियो। सबै घाइतेहरूको मनहरी अस्पतालमा उपचार भइरहेको छ।





































