जोडिनुहोस
  • होमपेज
  • पूर्वराजा ज्ञानेन्द्र शाह नगरकोटमा सक्रिय, राजावादी शक्तिहरू एकजुट हुँदै आन्दोलनको घोषणा

पूर्वराजा ज्ञानेन्द्र शाह नगरकोटमा सक्रिय, राजावादी शक्तिहरू एकजुट हुँदै आन्दोलनको घोषणा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह १० दिनदेखि नगरकोटस्थित सोल्टी वेस्टएन्ड रिसोर्टमा बसेर राजावादी दल र अभियन्ताहरूसँग भेटघाट र छलफलमा जुटिरहेका छन्। वैशाख १५ गते निर्मल निवासबाट नगरकोट पुगेका शाहले त्यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताहरूलाई भेटेका छन्।

सुरक्षा स्रोतका अनुसार, पूर्वराजा सरकारबाट उपलब्ध सशस्त्र प्रहरीको सुरक्षा टोलीसहित नगरकोट पुगेका हुन्। एक प्रहरी उच्च अधिकारीले भने, “१० दिनदेखि होटल परिसरमा राजावादी नेताहरूको बाक्लो उपस्थिती छ। भित्रको सुरक्षा सशस्त्र प्रहरीले हेरेको छ।”

राजावादी आन्दोलन फितलो भएको निष्कर्षपछि शाहले नगरकोटमा बसेर रणनीतिक छलफल थालेका हुन्। त्यसको नतिजा स्वरूप बिहीबार ‘संयुक्त जनआन्दोलन समिति’ मार्फत जेठ १५ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरिएको छ। समितिका संयोजक नवराज सुवेदीले घोषणा कार्यक्रममा राप्रपा र राप्रपा नेपालका अध्यक्षहरूलाई साथमा राख्दै सम्पूर्ण राजावादी शक्तिहरू एकजुट भएको दाबी गरे।

कार्यक्रममा कमल थापाले पहिलोपटक हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि सबै शक्तिहरू एक ठाउँमा आएको बताए। उनका अनुसार राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (बीपी), शिव सेना लगायत ४४ समूह आन्दोलनमा सहभागी छन्। सुवेदीले वडा तहसम्म संयुक्त आन्दोलन समिति गठन गर्ने योजना रहेको पनि जानकारी दिए।

राजावादी आन्दोलनको पछिल्लो पृष्ठभूमिमा त्रिभुवन विमानस्थलबाट स्वागतसहित शाहको पोखराबाट फर्किएको र चैत १५ मा दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शन हिंसात्मक भएपछि आन्दोलनले गम्भीर आलोचना खेपेको थियो। त्यस प्रदर्शनमा २ जनाको मृत्यु भएको थियो भने सरकारी सम्पत्तिमा तोडफोड र आगजनी भएपछि राजावादी आन्दोलनमा सहानुभूति घटेको थियो।

तीनकुने घटनापछि प्रसाईंसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र हिरासतमा छन्, र राज्यविरुद्धको अभियोगमा अनुसन्धान जारी छ। त्यही समीक्षात्मक पृष्ठभूमिमा पूर्वराजा शाहले पुनः सक्रिय भूमिका लिन थालेका हुन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका