जोडिनुहोस
  • होमपेज
  • ढुङ्गाका मूर्ति बेचेर जीविका चलाउँदै ७३ वर्षीय विष्ट

ढुङ्गाका मूर्ति बेचेर जीविका चलाउँदै ७३ वर्षीय विष्ट

कञ्चनपुर। काम गर्न उमेरले छेक्दैन, बरु काम गर्ने दृढ इच्छाशक्ति भए जस्तोसुकै काम गर्न सकिन्छ भन्ने उदाहरण शुक्लाफाँटा नगरपालिका–८ नौखरीका ७३ वर्षीय रामसिंह विष्टले प्रस्तुत गरेका छन्।

चुरे क्षेत्रका खोलाबाट ढुङ्गा सङ्कलन गरी मूर्ति निर्माण गर्दै आएका विष्टले ती मूर्ति बिक्री गरेर आफ्नो घरखर्च चलाइरहेका छन्। अन्य व्यक्तिले ढुङ्गाबाट मूर्ति बनाएको हेर्दै सिकेका विष्टले एक दशकमा १५० भन्दा बढी मूर्ति निर्माण गरिसकेका छन्। एउटा मूर्ति बनाउन एकदेखि तीन महिनासम्म लाग्ने गरेको उनले बताए।

विष्टले ढुङ्गाबाट बाघ, भगवती, गाई, शिव, गणेश, शिवलिङ्ग र नन्दीलगायतका मूर्ति बनाउँदै आएका छन्। मूर्ति बनाएबापत उनी प्रतिमूर्ति रु ३० हजारदेखि रु ५० हजारसम्म पारिश्रमिक लिने गर्छन्। “मूर्ति बनाउने माग आए आफैँ गोरुगाडा लिएर चुरे फेदीका खोलामा पुग्छु,” उनले भने, “मूर्ति बन्न सक्ने ढुङ्गा खोजेर घरमा ल्याउँछु, त्यसपछि फलामको औजारले खोपेर मूर्ति तयार पार्छु।”

मूर्ति बिक्रीबाट आएको रकमले घरपरिवारको खर्च, लुगाफाटो र अन्न खरिद गर्ने गरिएको उनले बताए। तन्नेरीहरू जस्तै विष्ट बिहानदेखि साँझसम्म मूर्ति बनाउनमा व्यस्त रहन्छन्। दुई–तीन महिनामा मूर्ति बनाउने माग आइरहने भएकाले घरखर्च र पारिश्रमिकको रकम ठिक्क हुने गरेको उनको भनाइ छ। “तराईमा भन्दा पहाडी क्षेत्रका मन्दिरमा सजाउनका लागि मूर्तिको बढी माग आउने गरेको छ,” उनले भने, “काम नगरे भोकै बस्नुपर्छ, त्यही भएर सीप सिक्दा जीविका चलाउन सहज भएको छ।”

धेरै टिप्पणी गरिएका