जोडिनुहोस
  • होमपेज
  • सिन्धुपाल्चोकमा गुण्डा नाईके ‘सगुन’ र धादिङमा ‘राधे’ ग्याङ सक्रिय ! गुण्डा सल्बलाएपछि बढ्यो सुरक्षा चुनौति !

सिन्धुपाल्चोकमा गुण्डा नाईके ‘सगुन’ र धादिङमा ‘राधे’ ग्याङ सक्रिय ! गुण्डा सल्बलाएपछि बढ्यो सुरक्षा चुनौति !

प्रहरी भन्छ–ठेगान लगाउँछौं

काठमाडौं – पछिल्लो समय देशमा सुषुप्त अवस्थामा रहेको गुण्डागर्दी पुनः सल्बलाउन थालेको तथ्य खुलेको छ । अपराध नियन्त्रणका नाममा सुरक्षात्मक चासो देखाए पनि भित्री रूपमा संगठित अपराधको सञ्जाल फेरि सक्रिय बन्दै गएको विभिन्न उदाहारणबाट पुष्टि भएको छ । अहिले विशेषतगरी सिन्धुपाल्चोक र धादिङका ग्रामीण तथा अर्धशहरी क्षेत्रहरूमा ‘सगुन’ र ‘राधे’ नामका समुहहरू आतंक मच्चाउँदै हिँडिरहेको बुझिएको छ ।

राज्य संयन्त्रको कमजोर उपस्थिति र कानुनी कार्यान्वयनको अभावले गर्दा यस्ता समुहहरूलाई फस्टाउने मौका मिलिरहेको छ । गुण्डागर्दी बढ्दै जानु न केवल शान्ति सुरक्षाका लागि चुनौती बनेको छ, यसले सामाजिक संरचना र स्थानीय शासनलाई समेत असर पु-याउने खतरा बोकेको छ ।

सिन्धुपाल्चोकमा गुण्डा नाइके सगुन श्रेष्ठ आतंक !
सिन्धुपाल्चोकको जुगल गाउँपालिका हगामाका गुण्डा नाइके भनेर चिनिने सगुन श्रेष्ठको पृष्ठभूमि विवादास्पद रहेको प्रहरीले जनाएको छ । उनले अपराध लुकाउन बिभिन्न पार्टी चाहार्ने गरेको प्रहरी अनुसन्धान अधिकारीहरु बताउँछन् । सगुन पहिलो संविधानसभा २०६४ मा सगनु माओवादीमा प्रवेश गरेका थिए । त्यतिबेला हगामका विभिन्न बुथ कब्जा गरेर श्रेष्ठले माओवादी उमेदवार अग्नि सापकोटालाई जिताउन सहयोग गरेको एमाले कार्यकर्ता बताउँछन् ।

चुनावमा माओवादीलाई सहयोग गरे पनि अपराधिक पृष्ठभूमिका श्रेष्ठलाई माओवादीले खासै वास्ता नगरेपछि उनी रुष्ट भए । माओवादीसँग रुष्ट भएपछि उनी एमाले र कांग्रेसको सम्र्पकमा पुगेका थिए । एमाले उनीसँग सकारात्मक नभएपछि काँग्रेस नेता मोहन बस्नेतको सम्र्पकमा पुगे । श्रेष्ठले विभिन्न ठेक्कापट्टामा २ देखि ५ प्रतिशतसम्म रकम असुलेर व्यावसायीहरुलाई दुःख दिने गर्थे ।

तातोपानी नाकाका व्यापारीहरुलाई धम्की दिने लगायतका गतिविधि गरेपछि मोहन बस्नेतले श्रेष्ठलाई च्याप्न छाडे । तर, कांग्रेस जिल्ला सभापति विकास लामा लगायतको साथ पाएपछि उनी तरुण दलका जिल्ला उपाध्यक्ष समेत भए । गुण्डा नाइके श्रेष्ठलाई उपाध्यक्षमै रहेका बखत पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको पाइएपछि तरूण दल केन्द्रीय कार्यसमितिले कारबाही गर्दै उपाध्यक्षबाट बर्खास्त गरेको थियो ।

गुण्डा नाइके सगुनका काण्डै काण्ड
काण्ड नम्बर–१
सिन्धुपाल्चोक पाङताङ घर भएका स्थानीय जीवन श्रेष्ठलाई २०७० फागुन १२ गते राति बन्दुक देखाएर अपहरण गरेपछि श्रेष्ठले सगुनको विरुद्ध उजुरी दिएका थिए । सुगनसहित १२ जनाको समुहले गाउँबाटै जीवनलाई अपहरण गरेर निर्घात कुटपिट गरेका थिए । अपहरणकै भोलिपल्ट जीवनले श्रेष्ठसहित अन्यका विरुद्ध प्रहरीमा जाहेरी दिएपछि अन्य पाँच जना पक्राउ परे पनि श्रेष्ठ भने फरार रहेका थिए । फरार सुचीमा नै रहेको बेला सिन्धुपाल्चोक प्रहरीले २०७१ साल कात्तिक १७ गते श्रेष्ठ र उनका सहयोगी प्रेमलाल श्रेष्ठलाई प्रक्राउ गरी अदालतमा बुझाएको थियो । पुर्पक्षमा नै रहेका बेला अदालतमा मुद्दा कमजोर भएपछि उनी केही समयमा नै जेलबाट रिहा भए ।
काण्ड नम्बर–२
गुण्डा नाइके सगुन श्रेष्ठको ‘ग्याङ’ले सिन्धुपाल्चोक बाह्रबीसेका गोविन्द थापाका छोरा केदार थापालाई अपहरण गरेर २५ लाख रुपैयाँ फिरौती असुलेपछि माओवादीकै पहलमा श्रेष्ठविरुद्ध प्रहरीमा थापाले जाहेरी दिएका थिए । त्यही प्रकरणमा सगुन केही वर्ष जेल सजाय भुक्तान गरी छुटेका थिए ।
काण्ड नम्बर–३
२०७८ साउनमा नेपाली कांग्रेसको वाग्मती प्रदेशमा क्रियाशील सदस्यताको विवाद टुंग्याउन गठित समितिका संयोजक श्याम घिमिरेमाथि आक्रमण भएको थियो । उनिमाथि गुण्डा नाइके सगुन श्रेष्ठसहितको १०÷१२ जनाको समूहले आक्रमण गरेको थियो ।
काण्ड नम्बर–४
२०७४ कात्तिकमा सिन्धुपाल्चोकको सुकुटेमा गुण्डा नाइके सगुन श्रेष्ठको ग्याङले पिस्तोल टेबुलमा राखेर खानपिन गरेको प्रसङ्ग सार्वजनिक भएको थियो । त्यो घटनाको केही दिनपछि सुकुटेस्थित रिभर बे रिसोर्टमा दुई समूहबीच झडप नै भयो । गुण्डागर्दीका कारण पटक–पटक जेल परिसकेका सगुन श्रेष्ठले नेतृत्व गरेको ग्याङमा सानो सगुन श्रेष्ठ, हिमाल श्रेष्ठ, निराजन खडका, राहुल श्रेष्ठ, रोशन राईलगायतका २५–३० जनाको समुह थियो । उनिहरुले मदिरा सेवन गरी अर्को समुहलाई पेस्तोल तेस्र्याएका थिए । त्यहाँ दुई समुहबीच केहीबेर हानाहान समेत भएको थियो ।

यतिमात्र होइन गुण्डा नाइके सगुनले जलविरे आसपास लगायत सिन्धुपाल्चोकमा रहेका विभिन्न योजनाहरुमा ठेकेदारहरुलाई धम्की दिएर रकम असुल्ने गरे पनि उनी विरुद्ध कोही पनि बोल्न सक्ने अवस्थामा छैनन् । उनको पुराना धन्दा अहिले पनि चलिरहेको ब्यापारीहरु बताउँछन् । गुण्डानाइके सगुन श्रेष्ठ विगत देखि अहिले सम्म नै आफ्नो आपराधिक ग्याङलाई सक्रिय बनाई विभिन्न आपराधिक क्रियाकलाप गर्दै आइरहेका छन् । अहिले पनि विभिन्न आयोजनाका व्यक्तिहरु तथा ब्यापारीहरुमात्र होइन, सर्वसाधारण समेत सगुन सँग आजित छन् । उनको धम्कीका कारण उनिहरु प्रहरीको उजुरी गर्न समेत डराउँछन् ।

रक्तचन्दन तस्करी, गुण्डागर्दी, अशुली, ठेक्कापट्टामा धम्क्याउने, थर्काउनेमा मात्र उनको धन्दा सिमित छैन । उनका कारण कतिपय युवतीहरुको समेत विचल्ली भएको बुझीएको छ । उनले दबाब र प्रभावमा पारेर केही युवतीहरुलाई समेत विभिन्न काममा प्रयोग गर्ने गरेको स्थानियहरु बताउँछन् । सगुन श्रेष्ठ प्रहरीको नेपाल प्रहरीको गुण्डाहरुको सूचीमा ‘क’ वर्गमा सूचीकृत व्यक्ति हुन् ।

धादिङमा गुण्डा नाइके राधे समुहको आतंक
सिन्धुपाल्चोकमा गुण्डा नाइके सगुन श्रेष्ठको समुले आतंक मच्चाएको छ भने धादिङको उत्तरी क्षेत्रमा गुण्डागर्दी, हप्ता असुली र अपराधमा संलग्न राधाकृष्ण भण्डारी उर्फ राधे समूहले आतङ्क मच्चाउँदै आएको छ । जेलभित्रै रहेका समिरमान बस्नेतसँग केही महिनाअघि खटपट भए पनि थुनाभित्रैबाट १० लाख रुपैयाँ पठाइदिएपछि राधेले बाहिरबाट समिरमानको धन्दा समेत सम्हालिरहेका छन् । स्थानीयबासिन्दाका अनुसार, राधे समूहका सदस्यहरूले गत वैशाख २६ गते खनियावास गाउँपालिका–४, दार्खास्थित स्वास्थ्यचौकीमा दुई युवामाथि खुकुरी प्रहार गरेका थिए ।

सुत्केरी महिलालाई उपचारका लागि स्वास्थ्यचौकी पुगेका विवस तामाङ र अशोक तामाङका छोरामाथि राति ११ः३५ मा खुकुरी प्रहार भएको हो । घटनामा विवस तामाङ गम्भीर घाइते भए । अहिले राधे समुहमा रहेका राम अकिल सिंह र झ्याप्ले भनिने अमर तामाङ खुंखार अपराधमा संलग्न छन । २०६९ मंसिर १८ गते भिषण सिंखडासहितको समुहमा रहेका यो घटनामा समेत फरार रहेका अमर लामा समेतका व्यक्तिहरुले स्थानिय विजय तामाङको हत्या गरेका थिए । विजय समर्थित समुहले घटना भएको १२ घण्टा नबित्दै भिषण सिंखडाको अपहरणपछि हत्या गरेको थियो । यो घटना सार्वजनिक भएपछि धादिङको खनियाबासमा हत्याको बदला हत्याले लिने गरेको तथ्य बाहिर आएको थियो ।

भिषण हत्यापछि फरार रहेको समुहले नै सत्यदेवी गाविस–३ स्थित गंगालाल तामाङको हत्या गरेका थिए । २०६७ कार्तिक १ गते दार्खाकै स्थानिय एमाले नेता शिव थापाको हत्या भएको थियो । प्रहरीले घटनालाई समयमै अनुसन्धान गरी कारबाही गर्न नसक्दा यो क्षेत्रमा अपराधको घटना बढ्दो छ ।

गुण्डाहरुको सूची तयार गर्दै प्रहरी
पछिल्लो सयम गुण्डागर्दी शुषुप्त रुपमा सल्बलाउन थालेपछि प्रहरीले पुनः गुण्डा नाइकेहरुको सूची तयार गर्न लागको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं एआइजी टेकबहादुर तामाङले गुण्डागर्दीमा संलग्नको ‘प्रोफाइलिङ’ गरिरहेको बताए । ‘आममानिसलाई त्रास देखाएर ठगी गर्ने, अपराधलाई बढावा दिने, गुण्डागर्दी गर्नेहरूको प्रोफाइलिङ गर्दैछौं,’ उनले भने, ‘उनीहरू कुनै टोले गुण्डा होस् वा राजनीतिक संरक्षण प्राप्त गरेकै व्यक्तिहरू होस् ।’

प्रहरीका अनुसार अहिले ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार वर्ग छुट्याएर गुण्डा नाइकेहरुको सूची तयारी भइरहेको छ । सूची तयार भएपछि देशभर सर्कुलर गरी उनिहरुमाथि निगरानी बढाउने देखि परिस्थिति हेरी ‘इन्काउन्टर’ सम्मको तयारी भइरहेको प्रहरी अधिकारीहरु बताउँछन् । प्रहरी स्रोतका अनुसार सिन्धुपाल्चोकका गुण्डा नाइके सगुन श्रेष्ठ र धादिङका गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ राधे ‘क’ वर्गमा सूचीकृत व्यक्ति हुन् ।

धेरै टिप्पणी गरिएका