जोडिनुहोस
  • होमपेज
  • हेवा खोलाको पुल दुर्घटना : छानबिनका लागि समिति गठन

हेवा खोलाको पुल दुर्घटना : छानबिनका लागि समिति गठन

काठमाडौं । ताप्लेजुङको फिदिम–हिलिहाङ सडक खण्डमा निर्माणाधीन हेवा खोलाको बेलिब्रिज भत्किएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ। मन्त्री देवेन्द्र दाहालको निर्णयमा गठिएको समितिको संयोजकत्व सडक विभागका उपमहानिर्देशक ललिजन खनालले सम्हाल्ने भएका छन्। सदस्यमा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, बुटवल सडक डिभिजन प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजनका श्यामकुमार यादव र सडक विभागका सिडीई अमितकुमार वर्मा रहेका छन्।

समितिलाई भत्किएको पुलको स्थलगत अध्ययन गरी घटनाको वास्तविक कारण पत्ता लगाउनुका साथै आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुझाव पेश गर्न जिम्मेवारी दिइएको छ। साथै, तत्काल उक्त क्षेत्रमा वैकल्पिक यातायात व्यवस्था मिलाउनेबारे सिफारिससमेत गर्न भनिएको छ। मन्त्रालयले समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ भने छानबिन टोलीले आइतबारबाट काम सुरु गरिसकेको छ। यातायात मन्त्री दाहालले निर्माणाधीन पुलको अनपेक्षित भत्किएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषी पहिचान गरेर आवश्यक कारबाही हुने स्पष्ट संकेत गरेका छन्।

स्थानीयवासी र यात्रीहरूका लागि असहज परिस्थिति सिर्जना भएपछि अब स्थायी समाधानका उपायतर्फ ध्यान दिइने मन्त्रालयले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका