जोडिनुहोस
  • होमपेज
  • दाउन्ने–दुम्कीबास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

दाउन्ने–दुम्कीबास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीबास क्षेत्रको वैकल्पिक मार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासमा पुल भाँचिएपछि डाइभर्सनबाट यातायात सञ्चालन गरिएकामा डाइभर्सन पनि बगाएपछि वैकल्पिक मार्गबाट गाडी चल्दै आएको थियो ।

आज बिहानदेखि त्यो मार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको हो । विनयी त्रिवेणी–३ को खरङ्गे खोलामा वर्षाका कारण पानीको बहाव अत्यधिक बढेपछि वैकल्पिक मार्ग पनि पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

अहिले यस सडक क्षेत्रको दाउन्ने–दुम्कीबास खण्डमा गाडी आवतजावत गर्न नसक्ने स्थिति भएको छ । निरन्तरको वर्षासँगै पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन पानीको बहाव बढेपछि बगाएको थियो ।

डाइभर्सन बगाएपछि अलपत्र परेका गाडीलाई वैकल्पिक भित्री मार्ग हुँदै होङ्शी गेट, सर्दी र ज्यामिरे सडक प्रयोग गरी आवतजावत गराइँदै आएको थियो । त्यो मार्ग पनि अवरोध भएपछि अहिले यातायात पूर्णरूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।

वर्षासँगै नदी तथा खोलामा आएको बहाव र अस्थायी डाइभर्सनको भरपर्दो व्यवस्था नहुँदा यात्रुहरूलाई कठिनाइ हुँदै आएको छ ।

यसैबीच गोरखाको शहीद लखन गाउँपालिका–७ को ढुङ्गागाढे भञ्ज्याङ नजिकै सडक भासिँदा ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । गएराति परेको वर्षाले सडक भासिएर दुईतर्फी नै बन्द भएको हो ।

धेरै टिप्पणी गरिएका