समाचार
सदस्यता नवीकरण पहिला नै भएको हो, ओलीसँग राष्ट्रिय राजनीतिको कुरा भयो- पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा भेटवार्ता सम्पन्न भएको छ।
भेटपछिको संक्षिप्त प्रतिक्रिया दिँदै भण्डारीले राष्ट्रिय राजनीतिका विषयमा छलफल भएको बताउँदै विस्तृत विवरण पार्टीको आधिकारिक च्यानलमार्फत आउने जानकारी दिइन्। उनले आफूले एमालेको सदस्यता पहिले नै नवीकरण गरिसकेको दाबी पनि दोहोर्याइन्।
यसअघि एमालेको सचिवालय र पोलिटब्युरो बैठकले पार्टीभित्र भण्डारीको सक्रिय भूमिकाबारे उठेका विवाद समाधानको जिम्मा अध्यक्ष ओलीलाई दिएको थियो। त्यसै अनुरूप आजको भेटवार्ता आयोजना गरिएको हो।
तर, भण्डारीले सदस्यता नवीकरण गरिसकेको भनिरहँदा एमाले पार्टीले भने उनको सदस्यता अहिलेसम्म होल्डमा रहेको र अन्तिम निर्णय पार्टीको उच्च तहबाट हुने स्पष्ट पारेको छ। यस भेटवार्ताले एमालेभित्र पूर्वराष्ट्रपतिको भूमिकाबारे नयाँ बहसको संकेत गरेको छ।




































