जोडिनुहोस
  • होमपेज
  • सभापति निवासमा कांग्रेसका शीर्ष नेताहरुको भेट, संविधान संशोधनदेखि महाधिवेशन तयारीसम्म छलफल

सभापति निवासमा कांग्रेसका शीर्ष नेताहरुको भेट, संविधान संशोधनदेखि महाधिवेशन तयारीसम्म छलफल

काठमाडौँ।नेपाली कांग्रेसको आन्तरिक सक्रियता तीव्र बनेको छ। पार्टी नेतृत्व तहदेखि संगठन तहसम्म समसामयिक राजनीतिक विषय र आगामी रणनीति तय गर्न निरन्तर छलफल र निर्णय भइरहेको छ।

आज पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा शीर्ष नेताहरूबीच समसामयिक राजनीतिक परिस्थितिबारे विशेष बैठक सम्पन्न भयो। छलफलमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, उपसभापति विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला तथा प्रवक्ता डा. प्रकाशशरण महत सहभागी थिए।

बैठकमा वर्तमान राजनीतिक अवस्था, पार्टी एकता, सत्तारूढ गठबन्धनसँगको सहकार्य, आगामी संसद् सत्रमा पार्टीको भूमिका र संगठन सुदृढीकरणका विषयमा गम्भीर छलफल भएको एक नेताले जानकारी दिए। बैठकमा पार्टीभित्र संवादको वातावरण विस्तार गर्नुपर्ने र कांग्रेसको सशक्त भूमिका अझ स्पष्ट बनाउनुपर्ने धारणा समेत व्यक्त गरिएको छ।

यसअघि सोमबार उपप्रधानमन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको अर्काे बैठकमा कांग्रेसका सातजना वरिष्ठ नेताहरू—‘सात भाइ’—बीच पनि संविधान संशोधनलगायतका विषयमा छलफल भएको थियो। उनीहरूले नेकपा एमालेसँग गरिएको सातबुँदे सहमतिअनुसार संविधान संशोधन प्रक्रिया तत्काल अघि बढाउनुपर्ने निष्कर्ष निकालेका छन्।

सो बैठकले गठबन्धन सरकारलाई जनमुखी र प्रभावकारी बनाउनुपर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने दिशामा बहसको दायरा बढाउनुपर्ने धारणा बनाएको थियो। साथै, यही सरकारलाई आगामी २०८४ सालसम्म निरन्तरता दिनुपर्ने सुझाव दिँदै उपप्रधानमन्त्री सिंहलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न आग्रह गरिएको थियो।

यसैबीच, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार १६ देखि २३ गतेसम्म बसेर महत्त्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले १५औं महाधिवेशन तयारीसँग सम्बन्धित विभिन्न विषयमा निर्णय गर्दै कार्यतालिका पनि सार्वजनिक गरेको छ।

कांग्रेस नेतृत्व र संरचना दुवैतर्फ सक्रियता देखिनु महाधिवेशन र आगामी राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकासँग प्रत्यक्ष जोडिएको देखिन्छ। दलभित्रको बहस र निर्णयले पार्टीभित्र सुधार र स्थायित्वको प्रयास भइरहेको संकेत गर्छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका