जोडिनुहोस
  • होमपेज
  • प्रतिनिधिसभामा भ्रष्टाचार, सुक्खा, किसान र दुर्घटनाबारे सांसदहरूको ध्यानाकर्षण

प्रतिनिधिसभामा भ्रष्टाचार, सुक्खा, किसान र दुर्घटनाबारे सांसदहरूको ध्यानाकर्षण

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न समयसामयिक विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले भ्रष्टाचार नियन्त्रण, सुक्खा प्रभावित क्षेत्रको अवस्था, कृषि समस्या तथा जनध्यानको मुद्दा उठाएका हुन्।

राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सरकारमा संलग्न मन्त्रीहरूमाथि समेत छानबिन गर्न माग गर्दै भ्रष्टाचार अन्त्यका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने बताए। “अब भ्रष्टाचार कहाँ–कहाँ छ? भन्ने होइन, कहाँ छैन भनेर हेर्नुपर्ने अवस्था आएको छ,” उनले भने।

रास्वपा सांसद बिन्दावासिनी कंसाकारले मधेस प्रदेशका बारा, पर्सा, महोत्तरीलगायत जिल्लामा पानीको चरम अभाव र रोपाइँ गर्न नसकिएको अवस्थाबारे धारणा राख्दै मन्त्रीहरू विदेश भ्रमणमा व्यस्त भएकोप्रति आपत्ति जनाइन्। साथै, घुसकाण्डमा परेका मन्त्रीहरूबारे निष्पक्ष छानबिन हुनुपर्ने उनको माग थियो।

सांसद ज्वालाकुमारी शाहले सबै राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताइन् भने सांसद प्रभु शाहले किसानका लागि मलखाद, सिँचाइ र बिजुलीको व्यवस्था तत्काल गर्न सरकारसँग आग्रह गरे। सांसद अमनलाल मोदीले ‘शिक्षा विधेयक कहाँ हरायो?’ भनेर प्रश्न गर्दै संसदमा यसको टुंगो खोज्नुपर्ने धारणा राखे।

सांसद नारायणी शर्माले भेरी करिडोरमा भएको टिपर दुर्घटनामा बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र बनाउन माग गरिन्। उक्त दुर्घटना आठबिसकोट नगरपालिका–१४, पिलिलचौरमा भएको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका