जोडिनुहोस
  • होमपेज
  • कोशी प्रदेशमा कफीखेती विस्तार हुँदै

कोशी प्रदेशमा कफीखेती विस्तार हुँदै

झापा। कोशी प्रदेशमा व्यावसायिक कफीखेती विस्तार हुँदै गएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडका अनुसार प्रदेशका १२ जिल्लामा पाँच हजारभन्दा बढी किसान कफीखेतीमा संलग्न छन् ।

प्रदेशमा हाल दुई हजार हेक्टरभन्दा बढी जमिनमा कफी खेती भइरहेको छ । इलाम, धनकुटा, भोजपुर, खोटाङ, सङ्खुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, तेह्रथुम, उदयपुर, मोरङ, पाँचथर र ताप्लेजुङ जिल्लामा कफीखेती व्यावसायिक रूपमा विस्तार गरिएको हो ।

कोशी प्रदेशमा वार्षिक ९० देखि १०० मेट्रिक टन कफी उत्पादन हुन्छ, जसको बजार मूल्य झन्डै २० करोड रुपैयाँ बराबरको रहेको छ । उत्पादित कफीमध्ये आधाभन्दा बढी विदेश निर्यात हुने गरेको बोर्डले जनाएको छ ।

देशभर उत्पादन हुने ५०० मेट्रिक टन कफीमध्ये कोशीको योगदान करिब २० प्रतिशत रहेको छ । इलाममा सबैभन्दा धेरै ९०० हेक्टर क्षेत्रफलमा कफीखेती हुँदै आएको छ, जहाँबाट वार्षिक ५० मेट्रिक टन कफी उत्पादन हुने गरेको छ । धनकुटा, मोरङ र पाँचथरमा क्रमशः ७५०, ५०० र ३५० हेक्टरमा कफीखेती विस्तार गरिएको छ ।

बोर्डले ५० रोपनीसम्म कफीखेती गर्न चाहने किसान वा सहकारीलाई रु ७ लाख ५० हजार र नर्सरी सञ्चालन गर्नेलाई रु ३ लाख ५० हजार अनुदान दिँदै आएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा कोशीका २४ स्थानीय तहमा ११० हेक्टर क्षेत्रफलमा कफीखेती विस्तारका लागि रु २ करोड ३७ लाख खर्च गरिएको थियो ।

चालु वर्ष २३ स्थानीय तहमा खेती विस्तारका लागि रु २ करोड ८३ लाख ५० हजार बजेट विनियोजन गरिएको बोर्डका सूचना अधिकारी अनन्त ढुङ्गानाले जानकारी दिए । उनका अनुसार कोशी प्रदेश कफी उत्पादनका लागि उर्बर भए पनि प्रशोधन, गुणस्तर, प्याकेजिङ र ट्रेडमार्कबारे जानकारीको अभावले किसानले सिधै अन्तरराष्ट्रिय बजारमा प्रवेश गर्न सकेका छैनन् ।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?